द्वन्द्वकालमा अन्तर्जातीय जनवादी विवाह, अहिले जातीय विभेद !

  ०७५ जेठ २ गते

महाबु गाउँपालिका–५ काशिकाँधकी ३३ वर्षीया शोभा सुनार (रावत)लाई ५६ वर्षीय जेठाजु डिलबहादुर रावतले जातीय विभेद गरेको भन्दै पीडितले जेठ १ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजूरी दिएकी छिन् ।

सशस्त्र द्वन्द्वताका तत्कालिन भूमिगत नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ता हुँदा पार्टीको सल्लाहमा २०६१ वैशाख २० गते नौमूलेको भरभरेमा डिलबहादुरका भाई गणेशबहादुर रावत र आफूबीच जनवादी विवाह भएकोमा अहिले परिवारले जातीय विभेद गरेको पीडितको उजुरीमा उल्लेख छ ।

जेठाजु डिलबहादुर रावतले दलितको छोरी शोभा सुनार रावतलाई बुहारी स्वीकार गर्न नसकिने भन्दै भाइ गणेशको अर्को विवाह सुर्खेतकी मीना महतरासँग २०६८ असोजमा गराइदिएको पनि उजुरीमा उल्लेख छ ।

द्वन्द्वकालमै २०६२ साउन २५ गते जन्मिएकी छोरी रुचीकुमारी रावत र आपूmलाई घरमा बस्न नदिएको कारण सदरमुकाममा डेरा गरी बसेको र २०६७ असार २३ गते छोरा जन्मिसकेपछि जेठाजुले पतिको अर्को विवाह गराइदिएको शोभाले बताइन् ।

गणेशले दोश्रो विवाह गरे लगतै शोभाले बहुविवाहमा उजुरी हाल्ने तयारी गरेको बेला २०६८ असोजको अन्तिम साता गणेश र मीना भागेर भारतको हिमाञ्चल पुगेपछि शोभाले दुल्लू नपा–९ पादुकास्थित माइतीकै संरक्षणमा २ छोराछोरीको लालनपालन र शिक्षादीक्षा गराउँदै आएको बताइन् ।

लामो समय अन्तरमा गडीगाउँमा नगएको अवस्थामा सासू मन्धरा रावतको निधन भएको थाहा पाएपछि ४५ दिने बरखी खुलाउन ०७५ फागुन १८ गते काशिकाँध पुग्दा आफूमाथि जातीय विभेद भएको शोभाले उजुरीमा उल्लेख गरेकी छिन् । ।

बरखी खुलाउँदा पण्डित परिवारका अन्य सदस्यसँगै राखेर काजक्रिया कर्म गराएको विषयलाई लिएर दलितकी छोरी भएर पनि हामीसँगै बस्न, खान खोजेकी भन्दै घर छोड्न जेठाजुले धम्की दिएको उनले बताइन् ।

घटनापछि पीडितले ०७५ चैत ३ गते महाबु गाउँपालिकाको न्यायिक समितिमा दिएको उजुरीमाथि छलफलमा अंश दिने भनी सहमति भएपनि ‘घर छुन दिन्न जहाँ जे गर्छेस् गर्’ भनी जेठाजुले धम्क्याएपछि प्रहरीमा उजुरी दिएको शोभाको भनाई छ ।

पीडितको उजुरीपछि आरोपित जेठाजु डिलबहादुर रावतलाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

आरोपित डिलबहादुर रावतले युद्धकालमा सबैले स्वीकार गरेको तर पछि समाजले दलितकी छोरी बुहारी बनाएकी भनी हेलाँ गर्न थालेपछि घरमा राख्न गा¥हो भएको प्रतिक्रिया दिए ।

द्वन्द्वकालमा आदर्श बन्न अन्तरजातीय विवाह गरेका पतिले घर परिवारमा व्यवस्थापन गर्न नसक्दा शोभाले विभेद भोग्नु परेको महाबु गाउँपालिका–५ का वडाध्यक्ष जगतबहादुर हमालले बताए ।


अमर सुनार