दोश्रो दिन एसइइ परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा प्रहार

  ०७५ चैत १५ गते

प्रदेश २ मा एसइइको विज्ञान र सामाजिक विषयको परीक्षा रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित हुँदै चैत १५ गते विरोध प्रदर्शन गरेका छन् ।

विज्ञान विषयको परीक्षा २०७५ चैत १४ गते र सामाजिक विषयको परीक्षा चैत १५ गते स्थागित गरिएको छ । परीक्षा हुनु अगावै ती विषयका प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा रद्ध गरिएको हो ।

दोश्रो दिन पनि एसइइ परीक्षा रद्द भएपछि विद्यार्थीहरु आक्रोशित भई आज बिहानैदेखि विरोध प्रदर्शन गर्नुका साथै टायर बालेर यातायात अबरुद्ध गरे । आक्रोशित प्रर्दशनकारीहरुले केहि सवारी साधानमा समेत तोडफोड गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार जनकपुरमा विद्यार्थीहरुले प्रदेश २ का मन्त्री परिषद तथा मुख्य मन्त्रीको कार्यालयमा चैत १५ गते ढुङगामुढा प्रहार समेत गरेको छ ।

आन्दोलित एसइइका विद्यार्थीहरुले जनकपुरको पिडारीचोक स्थित बा. २० च. ९३७१ नम्वरको कारमा तोडफोड समेत गरेको छ ।

कारको पछाडीको सिसा फुटेको छ । जनकपुरको पिडारी चोकमा विद्यार्थीहरुले २ घण्टा चक्का चाम समेत गरी विरोध प्रदर्शन गरेका छन् ।

यसैबिच विद्यार्थीको विरोध प्रदर्शनका कारण जिल्लाका नीजि तथा सरकारी विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरु आ–आफ्नो घर फर्किएका थिए ।

नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै विद्यार्थी संघ संगठनले ठाउँठाउँमा विरोध जनाएका हुन् । जनकपुरको भानु, चोक राम चोक र पिडारी चोक लगायतका स्थानमा विद्यार्थीले परीक्षा रद्द भएको विरोधमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले प्रदेश २ का मन्त्रालयहरुको गेट र जिल्ला प्रशासन कार्यालय धनुषाको अगाडी समेत नाराबाजी गरी विरोध प्रर्दशन गरेका थिए ।

चैत १५ गते हुने सामाजिक विषयको प्रश्न पत्र चैत १४ गते रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती सार्वजनिक भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो ।

यसैबिच जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर–जनकपुर सडकमा टायर बालेर अबरुद्ध पारेका थिए । उनीहरुले बजार बन्द गराउँदै हिँडेका थिए ।

परीक्षा केन्द्रबाट परीक्षार्थी फर्केपछि उनीहरु आक्रोशित बनेका थिए । जनकपुरस्थित सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा दिन पुगेका परीक्षार्थीहरुले प्रश्नपत्र आउट गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलित भए । प्रश्नपत्र आउट कसैले गर्छन् अनी सास्ती हामी विद्यार्थीले पाएको उनीहरुको भनाई थियो ।

चैत १४ गते लिएको विज्ञान विषयको प्रश्नपत्र पनि बाहिरिएको थियो । सोही कारण विज्ञान विषयको परीक्षा रद्द गरिसकेको छ ।

आज दोश्रो दिन पनि परीक्षा रद्द भएपछि विद्यार्थीहरुको भविष्य नै अन्योलमा परेको छ । विज्ञानको परीक्षा अब यही चैत २२ गते लिने भनिएको छ । स्थगित भएको सामाजिक विषयको परीक्षा कहिले हुने निर्णय भएको छैन ।

नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै प्रदेश २ का सरकारले संघीय सरकार जिम्मेवार भएको बताइएको छ ।

आफ्नो मातहतमा एसइई परीक्षा नरहेकोले पनि समस्या उत्पन्न भएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । आन्दोलनको मध्यनजर गरी स्थानीय प्रशासनले सुरक्षा अवस्था कडा पारेको जनाएको छ ।

पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका सामाजिक विषयको परीक्षाका दिन परीक्षा हलमा पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएको जानकारी पाएपछि त्यहाँबाट बजारमा फर्किएर प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले बिहान ७ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गरेका कारण वीरगञ्ज तनावग्रस्त बनेको थियो । वीरगञ्जको घण्टाघरमा टायर बालेर प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले तोडफोड पनि गरेका छन् ।

विद्यार्थीहरुले वीरगञ्जको विपी उद्यान पार्कमा ट्राफिक सचेतनाका लागि राखिएको एलइडी टिभी, घण्टाघर प्रहरी बीट माथि राखिएको एलइडी बोर्ड, घण्टाघर चोकमा राखिएको स्मार्ट ट्राफिक आइल्याण्ड तोडफोड गरेका छन् ।

त्यसैगरी उनीहरुले ना १ ख ७७८७ नम्बरको म्याजिक भ्यानको सिसा फोडिदिएका छन् । प्रदर्शनकारीले बाईपास सडकमा रहेको होटल हिमाल एण्ड भान्छा घरको सिसा फुटाएका छन् ।

तोडफोडबाट अगाडी भागको सिसा फुटेको र ७ लाख रुपियाँ भन्दा बढी क्षति भएको सञ्चालक जगरनाथप्रसाद कलवारले जानकारी दिए ।

त्यस्तै उनीहरुले प्रहरीमाथि ढुङ्गा समेत प्रहार गरेका थिए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रहार गरेको ढुङ्गाले लागेर प्रहरी उपरीक्षक रेवती ढकालको मोबाइल फुटेको छ ।

त्यसबाहेक सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी नौ जना सुरक्षाकर्मीहरुलाई ढुङ्गाले लागेर चोट लागेको प्रशासनले जनाएको छ । प्रदर्शनमा उत्रिएका दुई जना विद्यार्थीलाई गिरफ्तार गरेको प्रहरी उपरीक्षक ढकालले बताए ।

विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुको साथै त्यहाँ पनि प्रदर्शन गरेका थिए । विद्यार्थी तोडफोडमा उत्रिएपछि बिहान प्रहरीले भिड नियन्त्रणमा लिन दुई सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

दमकल मार्फत पानीको फोहोरा प्रहार गरेपछि विद्यार्थीहरु थप आक्रोशित भएका थिए । प्रहरीले भिड नियन्त्रणमा लिने क्रममा गरेको लाठी चार्जबाट केहि विद्यार्थी घाइते समेत भएका छन् ।

सिद्धार्थ माविका शिव शंकर पटेलको टाउकोमा चोट लागेको छ । नारायाणी अस्पतालमा उपचारको क्रममा ६ वटा टाका लागेको उनले बताए ।

त्यसैगरि साउथ जोनका राहुल पटेल, जिएचपीका आसिक अन्सारी, गौतम माविका निरज मण्डल, अभिनन्दन चौहान, अविरल चौहान, अमरद्विप चौधरी, गीता गजेन्द्र माविका लगायतका विद्यार्थीहरुलाई सामान्य चोटपटक लागेको छ ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थीको आरोप छ । ‘वी वान्ट जस्टीस’ भन्दै नारा लगाएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सबै परीक्षा रद्द गरी समय दिएर पुनः परीक्षा लिनुपर्ने माग गरेका थिए ।

साउथ जोनका राज साहले सबै परीक्षा रद्द गरेर लिन आग्रह गरे । विज्ञान विषयकोे परीक्षा रद्द भएको विरोधमा यसअघि विद्यार्थीहरुले चैत १४ गते बेलुका पनि प्रदर्शन गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनले राष्ट्रिय परीक्षा बोर्डको निर्णय यथाशीघ्र सच्याउन माग गरेका छन् । आकस्मिक बैठक बसेर विभिन्न निर्णय गर्दै विद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा स्थानीय प्रशासनले विद्यार्थी माथि दमन गरेको उल्लेख गर्दै त्यसको निन्दा र दोषीलाई कारबाहीको माग गरिएको छ ।

परीक्षा बोर्डले गरेको निर्णय सच्याउनुपर्ने, छानवीन कमिटी गठन गर्दै दोषीलाई जेल सजायको माग उनीहरुको छ । माग पुरा नभएको खण्डमा सडक संघर्षमा उत्रने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।

नेविसंघ पर्सा, अखिल÷अखिल क्रान्तिकारी पर्सा, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ पर्साका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले परीक्षाको अन्तराष्ट्रिय मान्यता हुने भएकोले परीक्षा बोर्ड त्यसैगरी अघि बढेको स्पष्ट पारे ।

उनले विद्यार्थीहरुलाई पर्ने गएको मर्काका बारेमा आफूहरु जानकार रहेको बताउँदै विद्यार्थीहरुको तर्फबाट आफूले परीक्षा बोर्डमा कुरा राख्नेमा आश्वस्त हुन आग्रह गरे ।

त्यसैगरी विद्यार्थीहरुले गरेको तोडफोडबाट अनुभूति कलेजमा १५ लाख मुल्य बराबरको क्षति भएको कलेजले जनाएको छ ।

ठूलो सङ्ख्यामा आएका विद्यार्थीहरुले कलेज भवनको सिसा फोडिदिएका हुन् । आन्दोलनकारीहरुले कलेज परिसर भित्र पसेर अध्यापन गराइरहेका शिक्षक कर्मचारी माथि हातपात समेत गरेका छन् ।

विद्यार्थीहरुको आक्रमणबाट कक्षामा पढाइरहेको शिक्षक गौरशंकर कुशवाहालाई चोट लागेको छ । त्यसैगरि कर्मचारी जायद हुसैन, सुरक्षा गार्ड मन्सुर अन्सारी र कार्यालय सहयोगी लक्ष्मी चौधरी पनि घाइते भएका छन् ।

सबैभन्दा बढी चोट कर्मचारी जायद हुसेनलाई चोट लागेको छ । उनको घुँडा, हात र छातीमा चोट लागेको कलेजका व्यवस्थापक नविन लामाले जानकारी दिए ।

विद्यार्थीहरुले ढुङ्गा हानेर विद्यासदन स्कुलको बसको सिसा फोडिदिएका छन् । उनीहरुले एनआई कलेजमा पनि तोडफोड गरेको कलेजले जनाएको छ ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार एसइई अन्तर्गत प्रदेश २ मा चैत १५ गते हुने सामाजिक विषयको परीक्षा स्थगित भएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले राजविराज नपा–५ स्थित सप्तरीको शिक्षा विकास तथा समन्वय इकाइमा साँझ ढुङ्गामुढा गरी झ्यालका सिसाहरु तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुलाई शिक्षा विकास तथा समन्वय एकाइको उत्तर रहेको पबि मावि परीक्षा केन्द्रमा प्रहरीले घेराउ गरेपछि भएको झडपपछि राजविराजको अवस्था तनावग्रस्त बनेको छ ।

विद्यार्थीहरुले प्रहरीलाई समेत ढुङ्गामुढा गरेका छन् । यस क्रममा केही प्रहरीहरु सामान्य घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई लखेटेर तितरबितर पारेका छन् ।

तनावग्रस्त भएपछि अवस्था नियन्त्रणमा लागि पुगेको सशस्त्र प्रहरी ६ नम्बर गणको ना. १ झ ७८२ नम्बरको गाडीमा प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् । यसअघि विद्यार्थीहरुले विभिन्न ठाउँमा टायर बाली प्रदर्शन गरेका थिए ।

परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले चैत १४ गते सम्पन्न विज्ञान विषयको परीक्षा रद्द गर्नुका साथै चैत १५ गतेको परीक्षा सुरु हुनु अगावै स्थगित गरेको छ ।

परीक्षा स्थगित भएपछि परीक्षा दिन नपाई फर्किएका आक्रोशित परिक्षार्थीहरुले बिहानैदेखि नाराबाजी गर्दै जुलुससहित राजविराज नगर परिक्रमा गरे । प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिदै कोणसभा समेत गरे ।

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार परीक्षा रद्द भएको विरोधमा विद्यार्थीहरुले आज विहान ७ बजेदेखि ८ बजे सम्म कलैयास्थित भरतचोकमा विरोध प्रदर्शन गर्नुका साथै टायर बालेर यातायात अबरुद्ध पारेका थिए । ती विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदेशन समेत गरेका थिए ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहाको लहान, गोलबजार, मिर्चैया, जिल्ला सदरमूकाम सिरहा लगायतका विभिन्न ठाउँमा विद्यार्थीहरुले टायर बालेर विरोध प्रदेशन गरे । दोषी पत्ता लगाई कारबाही गर्न र परीक्षा सुरचारु गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पनि केहि बेरसम्म विद्यार्थीहरुले धर्ना दिएका थिए ।

 

photo20190329dhanusha (1)

photo20190329dhanusha (2)

photo20190329dhanusha (3)


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम