दोलखाका दुई स्वास्थ्य चौकीमा एकजना पनि स्वास्थ्यकर्मी छैनन्, सेवाग्राही मर्कामा

  ०७६ कातिक २८ गते

दोलखाको शैलुङ गाउँपालिकाको दुई ओटा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

कर्मचारी समायोजन भएर गएपछि गाँउपालिकामा रहेका ६ ओटा स्वास्थ्यचौकीमध्ये वडा नम्वर ८ मा रहेको भैँसे स्वास्थ्यचौकी र काटाकुटी स्वास्थ्यौकीमा एक जना पनि स्वास्थ्यका कर्मचारी नभएको शैलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले जानकारी दिए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार अहिले गाँउपालिकाले राखेको सामुदायिक एकाईका स्वास्थ्यकर्मीबाट स्वास्थ्य चौकीको सामान्य सेवा सुचारू गरिएको छ भने सम्बन्धित मन्त्रालयमा कर्मचारी माग गरिएको छ ।

स्वास्थ्यकर्मी अभावमा स्थानीय सेवाग्राही सामान्य उपचारमा समेत सदरमुकाम चरिकोट वा सिन्धुपाल्चोक जिल्लाको मुडेका निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्याता रहेको छ  ।

शैलुङ गाँउपालिकालगायत अन्य स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन हुँदा निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवा दिने सरकारको नारा मात्र भएको स्थानीय सञ्चारकर्मी तारा बस्नेतले बताइन् ।

यसैगरी मागापौवा स्वास्थ्य चौकीका प्रमुख टपेन्द्र शाहले सो स्वास्थ्य चौकीमा रहेका दुई जना अनमी कर्मचारी समायोजनबाट सरूवा भइ गएकाले मागापौवा स्वास्थ्य केन्द्रमा रहेको बर्थिङ सेन्टरबाट दिँदै आएको सेवा समेत प्रभावित भएको छ ।

शैलुङ गाउँपालिका–४ का अध्यक्ष भरतप्रसाद ढुङ्गेलले ०७६ भदौबाट सञ्चालनमा आएको मागापौवा बर्थिङ सेन्टर कर्मचारी समायोजनमा सरूवा भइ गएकाले एक महिना नपुग्दै असोजबाट नै बन्द भएको जानकारी दिए ।

वडा अध्यक्ष ढुङ्गेलले अनमी अभावमा दशैँ अघिबाट नै सार्वजनिक सूचना जारी गरी बर्थिङ सेन्टर बन्द गरिएको र बर्थिङ सेन्टरमा कर्मचारी अभावमा घरमै असुरक्षित सुत्केरी हुनुपर्ने वा सदरमुकाम चरिकोटका अस्पताल वा स्थनीय निजी स्वास्थ्य केन्द्रमा सुरक्षित सुत्केरीका लागि लैजाँदा जोखिम मोल्नुपरेको र सेवा महङ्गो भएको समेत बताए ।

कर्मचारी अभावकै कारण बन्द गरिएको बर्थिङ सेन्टर र स्वास्थ्य चौकी नियमितताका लागि तत्काल कर्मचारी व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयमा माग गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णु कार्र्कीले बताए ।

शैलुङ गाउँपालिकामा रहेका पाँच ओटा बर्थिङ सेन्टरमध्ये अन्य चार ओटाले पनि कर्मचारी अभावका कारण प्रभावकारी रुपमा सेवा दिन नसकेको गाँउपालिकाले जनाएको छ ।

शैलुङ गाउँपालिकामा ६ ओटा स्वास्थ्यचौकीसहित आधारभुत सामुदायिक एकाई दुई र सामुदायिक स्वास्थ्य एकाई दुई ओटा गरी १० ओटा स्वास्थ्य संस्थाहरू रहेका छन् ।


उद्धव पोखरेल