देशमा भइरहेका गम्भीर घटनाप्रति आयोगद्वारा दुःख व्यक्त

  ०७४ मङ्सिर १३ गते

मुलुकका विभिन्न ४५ ओटा जिल्लाहरूमा प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक घटनाहरूमा बृद्धि भइरहेको अनुगमनबाट पाइएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

मङ्सिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विष्फोट हुँदा सात जना सुरक्षाकर्मी घाइते भएको र म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मुत्यु भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।

ललितपुरको लगनखेलमा आमसभा नजिकै विष्फोट भएको, उदयपुरमा एम्बुसमा परी उम्मेदवार सहित अन्य व्यक्ति गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको, मोरङ, झापा, बारा, महोत्तरी, सप्तरी, ललितपुर, भक्तपुर, नवलपरासी र गुल्मीलगायतका जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विष्फोट र झडपको भएको पाइएको र उम्मेदवारको घरमा विष्फोट गराइएको पाइएको भन्दै आयोगले ती घटनाहरूको भत्सर्ना गरेको छ ।

त्यसैगरी, मङ्सिर १२ गते काठमाडौँको बानेश्वरमा सडक अवरोध गरी आमसभा भएकोले आमनागरिकको आवागमनमा प्रतिकूल असर पर्न गएको आयोगको अनुगमनबाट देखिएको जनाइएको छ ।

आयोगले निर्वाचनको क्रममा भएका घटनाको अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कारबाही गर्न र शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भयरहित रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।


अनलाइन डेस्क