दृष्टिविहीन विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

  ०७६ जेठ २१ गते

नयाँ शैक्षिक सत्र सरू भएको चार महिना बित्न लागिसक्दा पनि दृष्टिविहिन विद्यार्थीले पाठ्यपुस्तक (ब्रेललिपी) नपाएको गुनासो गरेका छन् ।

हिमाली जिल्लामा २६ माघदेखि नयाँ शैक्षिक सत्र सुरू भएर पठनपाठन सुरू हुन्छ । तर, सिञ्जा गाउँपालिका-३ नराकोटमा रहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत २६ जना दृष्टिविहीन विद्यार्थीले अहिलेसम्म ब्रेललिपी अर्थात् पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।

यस विद्यालयमा रहेका दृष्टिविहीन विद्यार्थीका लागि पठनपाठन र बसोबासको व्यवस्था नेपाल नेत्रहीन सङ्घले गर्दै आएको छ ।

तर, शैक्षिक सामग्री र पाठ्यपुस्तक हरेक वर्ष तीन-चार महिना ढिला पाउँदा पढाइ प्रभावित हुने गरेको दृष्टिविहिन विद्यार्थी दत्त कामीले गुनासो गरे ।

पाठ्यपुस्तक नहुँदा कक्षा एकदेखि ११ कक्षासम्म अध्ययनरत् २६ जना विद्यार्थीले कक्षामा शिक्षकले पढाएको कुरा सुन्नुको विकल्प नरहेको गुनासो गरेका छन् ।

नौ कक्षामा पाँचजना विद्यार्थी अध्ययनरत् भए पनि पाँचै जना विद्यार्थीलाई पाठ्यपुस्तक सामग्री उपलब्ध नहुँदा अध्ययन गर्न असहज हुने गरेको छ ।

सिञ्जा गाउँपालिका-३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईं देशभर शैक्षिक सत्र एकै समयमा सुरू नहुने हुनाले हिमाली जिल्लामा पाठ्यपुस्तको समस्या हुने गरेको बताउँछन् ।

तराईमा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ भने हिमाली जिल्लामा फागुनदेखि सुरू हुन्छ । उनले भने-'यसले गर्दा पनि पाठ्यपुस्तक आउनमा ढिलाइ हुने गरेको छ ।' ब्रेललिपी पाठ्यपुस्तक ल्याउन पहल भइरहेको उनले बताए ।


मानदत्त रावल