दृष्टिविहिन विद्यालयमा गाउँलेले नै पानी रोकिदिए

  ०७६ भदौ ५ गते

सिँजा गाउँपालिका-३ नराकोटमा रहेको भैरव माध्यमिक आवासीय विद्यालयका लागि ल्याइएको खानेपानी गाउँलेले अबरूद्ध गरिदिएका छन् ।

विद्यालयमा खानेपानीका सबै संरचना बनाइएको छ । तर, गाउँका बासिन्दाले पाइप काट्दा समस्या भएको शिक्षिका शान्ति रोकायाले बताइन् ।

'अहिले खानेपानी र सरसफाईका लागि भिरालो गोरेटोमा दुई घण्टा हिँड्नुपर्छ ।'-रोकायाले भनिन्,-'मुस्किलले पानी बोकेर गुजारा चलाइरहेका छौँ ।'

पानीको अभावमा विद्यालयमा सरसफाई पनि हुन नसकेको भन्दै रोकायाले नुहाइधुवाइ गर्न खोला तथा नदीको किनारतिर जानुपरेको सुनाइन् ।

नौजना दृष्टिविहिन विद्यार्थी अध्ययनरत यस विद्यालयमा समयसमयमा खानेपानीको अभाव हुने गरेको विद्यार्थीको गुनासो छ ।

पानीको अभावका कारण शौचालयमा ताला लगाइएपछि शौच गर्न जोखिम मोलेर जङ्गलतिर जान बाध्य भएको उनीहरूको गुनासो छ ।

शौचालय प्रयोगमा नआउँदा खानेकुरा समेत दुषित हुने गरेको कक्षा १० मा अध्ययनरत धर्मलाल प्याकुरेलले गुनासो गरे ।

एउटा गैरसरकारी संस्थाले दृष्टिविहिन विद्यार्थीका लागि निर्माण गरेको अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी आवासीय भवनमा ११ कोठा छन् ।

अपाङ्गतामैत्री विद्यालय र शौचालय भएपनि पानीको व्यवस्था नहुँदा शौचालयमा ताला लगाउनुपरेको विशेष कक्षा शिक्षक दत्त रोकायाको भनाई छ ।

'पानी अभाव छ । त्यसैले अहिले शौचालयमा ताला लगाएका छौँ ।'-रोकायाले भने-'विगत तीन महिनादेखि विद्यालयमा खानेपानीको समस्या भएपनि कुनै पक्षबाट समस्या समाधानको लागि पहल नहुँदा दिसापिसाब गर्न दृष्टिविहीन विद्यार्थी जङ्गलतिर जाने गर्छन् ।'

खानेपानी व्यवस्थापनका विषयमा विद्यालय प्रशासन, वडा कार्यालय र गाउँपालिकासम्म पनि आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरूको आरोप छ ।

सिँजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले विद्यालयमा खानेपानी अभाव भएकोबारे जानकारी पाएको बताए ।

यसले दृष्टिविहीन विद्यार्थीलाई समस्या भएको बताउँदै न्यौपानेले स्थानीयले विद्यालयमा लगिएको पानीको पाइप काटेर सिंचाईका लागि प्रयोग गरिदिँदा यस्तो समस्या भएको बताए ।

'खानेपानीको पाइप काटिँदा यो समस्या भएको हो ।'-न्यौपानेले भने । विद्यालयमा खानेपानीको समस्या समाधान गर्न गाउँपालिकाले पहल गर्ने उनले बताए ।


मानदत्त रावल