दूषित पिउने पानीका कारण कारागारका १ सय १६ जना कैदीबन्दीको स्वास्थ्यमा समस्या

  ०७६ साउन २१ गते

दूषित पानीका कारण जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी मध्ये १ सय १६ जना बिरामी भएका छन् ।

उनीहरूमा भाइरल ज्वरो, रूघाखोकी र पखालाको समस्या देखिएको जेलर कुमारबहादुर खड्काले बताए ।

एकैसाथ धेरै कैदीबन्दीको स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कासहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट तीन जना चिकित्सकसहित १५ जनाको टोलीले स्वास्थ्य जाँच तथा उपचार गरेको कारागार प्रशासनले जनाएको छ ।

सुरूआती दिनमा दुई, तीन जनालाई ज्वरो आएको र पछि एकै ठाउँमा रहेका अन्यमा प्रकोपको रूपमा फैलिएको जेलर खड्काले बताए ।

उनले भने-'अन्य कोठा छैनन् । बिरामी र सामान्य अवस्थाका सबैलाई एउटै कोठामा राख्नु परेको छ । त्यसैले सर्‍यो ।' उनका अनुसार बिरामी सबैलाई परीक्षणपछि औषधि खुवाइएको छ ।

वर्षा मौसममा खोलाबाट आउने खानेपानी धमिलो र दूषित आउने भएकाले कैदीबन्दीमा भाइरल प्रकोप देखा परेको चिकित्सकको टोलीले जनाएको छ ।

कैदीबन्दीको स्वास्थ्य प्रतिकूल बन्दै गएपछि अहिले कारागारले सबैलाई पानी तताएर पिउने व्यवस्था मिलाएको कारागार प्रशासनको भनाई छ । ५० जना क्षमता रहेको कारागारमा तेब्बर बढी कैदीबन्दी छन् ।

कारागारमा पुरूष कैदी १ सय ५ जना र बन्दी ५२ जना रहेका छन् । महिला कैदी आठ जना र बन्दी चार जना तथा आमासँग आश्रति चार जना नाबालिका रहेका छन् ।

०३६ सालमा निर्मित कारागारको भौतिक संरचना जीर्ण अवस्थामा छ भने क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिँदा शौचालय, बाथरूम, खानेपानी तथा सरसफाईमा समेत समस्या पर्ने गरेको जेलर खड्काको भनाई छ ।


भरत खड्का