दूषित पानीका कारण झाडाखपलाबाट २४ जनाभन्दा बढी प्रभावित

  ०७६ साउन २५ गते

पाँचखपन नगरपालिका–४ का स्थानीय दूषित पानी खानु पर्दा २५ जना बिरामी परेका छन् । साउन १९ यता वडा नं ४ मा रहेको होक्से माझगाउँ टोलका स्थानीयले दूषित पानीका खानुपर्दा झाडापखाला लागेर प्रभावित भएका हुन् ।

बिरामी पर्नेमा नौ जना पुरूष र १६ जना महिला रहेका छन् । तीन जना बालबालिका पनि दूषित पानीका कारण प्रभावित भएका छन् । सातायता फैलिएको झापखालाको प्रकोप नियन्त्रणमा नआएको वडा कार्यालयले जनाएको छ ।

६ परिवारका २५ जनाले एउटै पानीको मुहान प्रयोग गर्ने र पानी दूषित भएकाले बिरामी परेको भेषराज बस्नेतले बताए ।

उनले कुवामा केही दिनअघि बाढी पसेको, नजिकै पानीको मुहान नहुँदा फोहोर पानीले झाडापखाला सुरू भएको बताए ।

उनले भने–“हिउँदमा मुहान सुक्यो । वर्षा लागेपछि त्यही ठाउँमा फेरि मुहान फुट्यो । फोहोर पानीले महामारी ल्यायो ।”

झाडापखला नियन्त्रणको लागि पाँचखपन नगरपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले घर–घरै उपचार सुरू गरेको वडाध्यक्ष काजीबहादुर तामाङले बताए ।

झाडापखाला फैलिएपछि साउन २२ गतेदेखि पाँचखपन नगरपालिका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना अहेव, लिङलिङ स्वास्थ्य चौकीबाट एक जना अहेव र शहरी स्वास्थ्य एकाईबाट एक जना अनमीको टोलीले बिरामीको उपचार गरी रहेको वडाध्यक्ष तामाङले बताए ।

प्रभावित क्षेत्रमा चिकित्सकहरू खटिए पनि झाडापखाला नियन्त्रण हुन नसकेको स्वास्थ्य कार्यालय सङ्खुवासभाका सूचना अधिकारी रोशन श्रेष्ठले बताए । उनले झाडापखाला छिट्टै नियन्त्रणमा आउने बताए ।


बाबुराम बास्तोला