दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ६ गते

ठाँटीकाँध गाउँपालिका–२ प्याडुलीकी २४ वर्षीया महिला, बर्दियाको बाँसगढी नगरपालिका–४ का ४२ वर्षीय भीमलाल चौधरी र बाँसगढी नगरपालिका–६ का २४ वर्षीय विष्णुलाल चौधरीलाई जुत्ताको माला लगाएको आरोपमा प्रहरीले ४ जनालाई गिरफ्तार गरेको छ ।

पीडितको उजुरीको आधारमा ठाँटीकाँध गाउँपालिका–३ सुइयाँका २४ वर्षीय प्रेमबहादुर शाही, ठाँटीकाँध गाउँपालिका–२ प्याडुलीका तीन जना ४१ वर्षीय धनबहादुर थापा, २५ वर्षीय दलबहादुर थापा र २० वर्षीय मीनबहादुर थापालाई फागुन ६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

आफूहरूलाई जुत्ताको माला लगाई दुर्व्यवहार तथा बेइज्जती गरेको भन्दै फागुन ५ गते पीडित पक्षले पाँचजना विरूद्ध दिएको उजुरी अनुसार एक जना १७ वर्षीय बालक फरार रहेको इन्स्पेक्टर सुनारले बताउनुभयो ।

टेलिफोनको कुराकानीमार्फत चिनजान भएका आरोपितहरू भेट गर्नको लागि ०७७ फागुन १ गते राति ठाँटीकाँध गाउँपालिका–३ सुइयाँस्थित महिलाको माइती घरमा पुगेका बेला स्थानीयले राति घरभित्र थुनेको पीडित महिलाको आरोप छ ।

बिहान प्रहरी पुगेपछि स्थानीयले महिलासहित तीन जनालाई जुत्ताको माला लगाएर कुटपिट गरेको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो ।


अमर सुनार