दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७७ साउन १३ गते

२० वर्षीया युवतीलाई दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–२ बस्ने जनता समाजवादी पार्टीका ३२ वर्षीय विद्यार्थी नेता नविन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १२ गते उजुरी दर्ता भएको छ ।

जनकपुरधाम उमनपा–४ शिव चोकस्थित जेएफसी रेष्टुरेण्टमा कार्यरत युवतीलाई साउन १० गते राति १० बजे दुर्व्यवहार गरेको भन्दै पीडित युवतीले दिएको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषाले साउन १२ गते दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले बताउनु भयो ।

पीडित युवतीले इन्सेक धनुषा प्रतिनिधिलाई भन्नुभयो–‘मादक पदार्थ सेवन गरेका नेता यादवले थप रक्सी माग गरेका थिए, रक्सी नदिएको झोँकमा आफुलाई दुर्व्यवहार प्रयास गरिएको हो ।’

साउन १० गते राति क्याफेमा युवतीलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मौखिक उजुरीको आधारमा आरोपित यादवलाई सोही दिन राति गिरफ्तार गरेको डिएसपी कार्कीले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह