दुर्गम गाउँका र्सवसाधारण औषधि उपचारबाट वञ्चित

  ०७३ कात्तिक २७ गते

ओखलढुङ्गाको दुर्गम भेगका र्सवसाधारण सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपचारको सेवाबाट वञ्चित भएका छन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी र निशुल्क औषधि अभाव भएपछि र्सवसाधारण उपचारबाट वञ्चित भएका हुन् ।

खिजीकाति, रावादोलु, भूसिंगा, पात्ले लगायतका गाविसमा रहेका स्वास्थ्य संस्थाहरूमा निशुल्क औषधि अभाव हुँदा सर्वसाधारण रूघा खोकी, ज्वरोलगायतका रोगको उपचार गर्न सदरमुकाम र निजी औषधि पसलहरूमा धाउन बाध्य भएका छन् ।

खिजीकाति स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको काम कार्यालय सहयोगीले गर्ने गरेको स्थानीयको आरोप छ । जिल्ला जनस्वास्थ्य कार्यालयले खरिद गरेको औषधि समयमा ढुवानी गरेर नपठाउँदा गाउँमा औषधि अभाव हुने गरेको छ । स्वास्थ्य कार्यालयले भने औषधिको अभाव नभएको र अवस्था सामान्य रहेको जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी अहमद मन्सुरले असोजमा औषधि खरिद भएको र अव पनि खरिदको प्रकृयामा रहेकाले औषधि अभाव नभएको बताए ।

गाउँमा भने सिटामोल, ब्रुफिन, डाइजिन जस्ता साधारण औषधि समेत नभएर सर्वसाधारण मेडिकलको भर पर्नुपर्ने बाध्यता भएको रावादोलुकीका स्थानीय शुशान्ती गुरूङले गुनासो गरिन् । गाउँका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नबस्दा साधारण स्वास्थ्य परीक्षण गर्नसमेत सदरमुकामसम्म धाएर गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।


शिवप्रसाद ढुङ्गाना