दुर्गमका स्वास्थ्य संस्था प्रसूति सेवा बन्द हुँदा गर्भवति महिला सेवाबाट वञ्चित

  ०७६ मङ्सिर १६ गते

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन भएर गएपछि दुर्गम गाउँका स्वास्थ्य संस्थामा सञ्चालित प्रसूति गृहको सेवा अबरूद्ध छ ।

ओखलढुङ्गाको चार स्थानीय तहका दर्जन बढी स्वास्थ्य चौकीमा ०७६ कात्तिक अन्तिम सातादेखि सेवा अबरूद्ध भएको हो ।

प्रसूति गृहमा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएपछि सेवा बन्द भएको छ । समायोजनका क्रममा प्रसूति गृहका तालिम प्राप्त स्वास्थ्यकर्मी अन्यत्रै सरूवा भएपछि स्वास्थ्य संस्था कुरूवाका भरमा छन्  ।

प्रसूति गृहमा स्वास्थ्यकर्मी नहुँदा गर्भ जाँच, प्रसूति गराउन र सुत्केरी जाँच जस्ता सेवाबाट वञ्चित भएको खिजीदेम्वाकी निमल्हाकी शेर्पाले बताउनुभयो ।

स्वास्थ्यकर्मी नभएपछि गर्भवति महिलाले गर्भजाँच, प्रसूति गराउन र स्वास्थ्य सल्लाह लिन नपाएको शेर्पाको भनाइ छ ।

यसरी स्वास्थ्यकर्मी नभएर चम्पादेवी गाउँपालिकामा तीन, खिजीदेम्वामा चार, लिखुमा चार र चिसङ्खुगढी गाउँपालिकामा रहेका पाँच गरी १६ ओटा प्रसूति गृहको सेवा ठप्प छ ।

प्रसूति गृहमा गर्भ परीक्षण, सुत्केरी परीक्षण तथा प्रसूति गराउने, स्वास्थ्य परामर्श दिने र जटिल अवस्था आएमा अन्यत्र रेफर गर्ने सेवा प्रवाह गरिन्छ । प्रत्येक प्रसूति गृहमा तालिम प्राप्त दुई जना महिला स्वास्थ्यकर्मी हुन्छन् ।

प्रसूति गृहमा स्वास्थ्यकर्मी नभएपछि चिसङ्खुगढीको रातमाटे, सेर्ना, दियाले, पोखरे र कुइभीरका गर्भवति महिला सेवाबाट वञ्चित छन् ।

त्यस्तै खिजीदेम्वाका खिजीकाति, भूसिङ्गा, रावादोलु र पात्ले, चम्पादेवीका रानीवन, फुलबारी र फेदिगुठमा प्रसूति सेवाबाट वञ्चित छन् ।

लिखु गाउँपालिकाको पोकली, टारकेराबारी, नर्मदेश्वर र यसमका प्रसूति गृहमा स्वास्थ्यकर्मी नभएर सेवा अबरूद्ध भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताउनुभयो ।

नियमित स्वास्थ्य जाँच, परामर्श सेवा तथा औषधि सेवन लगायतका सेवा लिन स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएपछि गम्भीर समस्या आएको चिसङ्खुगढी गाउँपालिका–२ का अध्यक्ष नरेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘गाउँमा दक्ष स्वास्थ्यकर्मी सरूवा भएर गए । अस्ति एक जना महिलालाई अचानक प्रसूति व्यथा लागेपछि गाडी खोजेर सदरमुकाम पठाइयो । बाटैमा बच्चा जन्मेर रक्तश्राव हुँदा झण्डै ज्यान गएन ।’

स्वास्थ्य संस्थामा आएकालाई अन्य स्वास्थ्यकर्मीले परामर्श दिए पनि तालिम प्राप्त नभएपछि प्रसूति गराउन नसकिने चम्पादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम सुवेदीले बताउनुभयो ।

गाउँपालिका भरी प्रसूति गृहका दक्ष प्रसूतिकर्मी बाहेक नै २० जना स्वास्थ्यकर्मी अभाव छ । ६ जना प्रसूति गृहमा १२ जना हुनुपर्नेमा जम्मा तीन जना मात्रै कार्यरत छन् ।

सुवेदीले भन्नुभयो–‘६ मध्ये तीन ओटाको सेवा बन्द छ । तीन ओटामा दुई-दुई जना हुनुपर्ने भएपनि एक-एक जना खटाएर सेवा दिइएको छ । समस्या भनिसाध्यै छैन ।’

गाउँपालिकाको तर्फबाट अब कर्मचारी नपठाए आमा तथा बच्चाको सुरक्षा गर्न नसकिने भनेर स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको सुवेदीको भनाइ छ ।

खिजीदेम्वा गाउँपालिका–४ स्थित खिजीकाति र भूसिङ्गा स्वास्थ्य चौकीमा रहेका ५-५ स्वास्थ्यकर्मीमध्ये एक जना अनमी मात्रै कार्यरत छन् ।

‘उनीहरू कामले गाउँपालिका आउँदा दुवै स्वास्थ्य चौकी बन्द हुन्छ । यहाँ चार ओटा प्रसूति गृह छन् । एकमा मात्रै स्वास्थ्यकर्मी छन् । अन्यत्र त सेवा नै ठप्प छ ।’ प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले भन्नुभयो ।

सुनकोशी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख को बनाउने भन्नेमा चर्को विवाद छ । सरूवा भएर आएका जनस्वाथ्य निरीक्षक र सिनियर अहेबबीच को वरिष्ठ भन्नेमा विवाद हुँदा समस्या आएको हो ।

वरिष्ठताको एकीन गर्न स्वास्थ्य मन्त्रालयलाई लेखी पठाएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘सरूवा गएर बर्थिङ सेन्टर मात्रै होइन । अन्य स्वास्थ्य चौकीमा कर्मचारी छैनन् । शाखामा प्रमुखको विवादले टाउको खाएको छ ।’

यहाँ भएका चार प्रसूति गृहमध्ये एकमा मात्रै दक्ष स्वास्थ्यकर्मी छन् । अन्यमा प्रसूति गराउन आउनेलाई सेवा दिन नसकिएको कार्कीले बताए ।

मूलखर्कमा भवन अभावमा प्रसूति गृह नै थिएन । अहिले पनि स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छैन ।

संविधानमा स्वास्थ्यलाई मौलिक हकको रूपमा परिभाषित गरिएको छ । धारा ३५ (१) प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ ।

यो हक प्रचलनका लागि सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ लागू भएको छ । उक्त ऐनको दफा ५ र ६ मा दक्ष स्वास्थ्यकर्मीबाट गर्भवति सेवा प्राप्त गर्ने अधिकार तथा प्रसूति सेवा दिइनु पर्ने व्यवस्था छ ।

तर, सरकारले ऐनको व्यवस्था अनुसार सेवा दिन दक्ष कर्मचारी व्यवस्था नगर्दा दुर्गम गाउँका गर्भवति महिला मौलिक हकबाट वञ्चित भएका सोच नेपालका जिल्ला प्रतिनिधि बोधनारायण श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यको हक नागरिकले उपभोग गर्न पाउने व्यवस्थाको तत्काल कार्यन्वयनका लागि राज्यका निकायलाई नागरिक स्तरबाटै दबाब दिनु पर्ने उहाँको भनाइ छ ।

दक्ष स्वास्थ्यकर्मी नभएर नागरिकले स्वास्थ्यको अधिकारबाट वञ्चित भएको विषयमा चिसङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले भएका कर्मचारी पनि सरूवा गरी अरू नपठाएर सङ्घीय सरकारले नागरिकको अधिकार हनन् गरेको आरोप लगाउनुभयो । यसबारे सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराइने शर्माले बताउनुभयो ।

तर, स्वास्थ्यकर्मी अभावमा दुर्गम गाउँमा गर्भवति महिलाले स्वास्थ्य परीक्षण तथा परामर्श र प्रसूति सेवा पाएका छैनन् ।

उनीहरू जटिल अवस्था आए मङ्हगोमा गाडी रिजर्भ गरेर सदरमुकाम जान अन्यथा घरमै प्रसूति गराउन बाध्य छन् । घरमै प्रसूति गराउँदा आमा तथा बच्चाको ज्यान नै जोखिममा पर्छ ।

गत वर्षमा घरमै प्रसूति गराउँदा अत्याधिक रक्तश्राव भएर ओखलढुङ्गामा चार जना आमाले ज्यान गुमाएको तथ्याङ्क छ ।


शिवप्रसाद ढुङ्गाना