दुर्गमका गाउँपालिकामा कर्मचारी अभाव, सेवाग्राहीलाई सास्ती

  ०७६ कात्तिक ३० गते

तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा कर्मचारी अभाव भएका कारण सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।

आर्थिक वर्षको पहिलो चौमासिकका कामकाज सम्पादनमा बाधा पुगेको ति गाउँपालिकाहरूले जनाएका छन ।

तिनपाटन गाउँपालिकामा गत वैशाखदेखि लेखा शाखामा कर्मचारी छैनन् भने असोजदेखि प्रमुख प्रशासकीय अधिकृत, शाखाका अन्य कर्मचारीहरू समेत समायोजन भएर अन्यत्र गएपछि कामकाज प्रभावित भएको छ ।

उक्त गाउँपालिकामा करारका केही कर्मचारी बाहेकका कर्मचारीको अभाव हुँदा नियमित कामकाज सञ्चालन गर्न समेत अप्ठ्यारो भएको गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी तामाङले बताइन् ।

उनका अनुसार गाउँपालिकाको लेखा शाखा, महिला तथा बालबालिका शाखा र प्रमुख प्रशासकीय अधिकृतको कोटा खाली छ ।

त्यसैगरी गाउँपालिकाको ९ र १० नम्बर वडामा सचिव छैनन् । कर्मचारी अभावका कारण पहिलो चौमासिक कात्तिक महिनामै सकाउनु पर्ने काम समेत ठप्प भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै घ्याङ्लेख गाउँपालिकामा पनि कर्मचारी अभाव भएको छ । स्थानीय तहमा भएका केही कर्मचारी समायोजनपछि अन्यत्र जाँदा कामकाज ठप्प भएको सो गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष नेपालीले बताए ।

गाउँपालिकाका मात्रै कृषि, शिक्षा, लेखा, प्राविधिक, इन्जिनियर, महिलालगायतका शाखाहरू कर्मचारी विहीन छन् ।

गाउँपालिकामा करारमा रहेका दुई जना कर्मचारीले काम चलाएका छन् । सूचना सञ्चार, यातायात लगायतको समस्या रहेको यो गाउँपालिकामा कर्मचारी बस्नै नचाहाने हुँदा पनि गाउँपालिका सञ्चालनमा समस्या भएको नेपालीले बताए ।


बिमला पाण्डे