दुनै खानेपानीको ट्याङ्कीमा मानव मलमुत्र ! 

  ०७५ भदौ १४ गते

डोल्पाको सदरमुकाम दुनै बजारस्थित खानेपानीका ट्याङ्कीमा दिसा भेटिएको स्थानीयबासीले जनाएका छन् । दुनै बजार क्षेत्रमा रहेका खानेपानीका ट्याङ्कीमा दिसा र फोहोर भेटिएको स्थानीयबासी ओमेन्द्र केसीले बताए ।

खानेपानीका ट्याङ्कीमा फोहोर र दिसा भरिएको भएपनि दुनै खानेपानी उपभोक्ता समिति यस विषयमा जिम्मेवार नदेखिएको स्थानीयको आरोप छ । संविधानको धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने व्यवस्था गरिएको छ । यसैगरी धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने व्यवस्था गरेको भएपनि दुनैका स्थानीयबासीले स्वच्छ खानेपानी पाउन सकेका छैनन् ।

करिव ३ सय घरधुरी बसोबास गर्दै आएको सदरमुकाम दुनैमा हाल २ सय घरधुरीको धारामा पानी वितरण गरेको दुनै खानेपानी उपभोक्ता समितिले जानकारी दिएको छ । निकै अस्तव्यस्त दुनैको खानेपानी व्यवस्थित गर्न नसक्दा ट्याङ्कीमा समेत दिसा गर्ने गरेको दुनैमा बस्ने कर्मचारीहरू बताउँछन् ।

बजार भित्रको क्षेत्रमा निर्माण गरिएका खानेपानीका ट्याङ्कीहरू अव्यवस्थित भएपछि भाडामा र कामका लागि बस्ने मानिसले दिसा गर्ने गरेको एक स्थानीयले आरोप लगाए । स्थानीयका अनुसार बारम्बार खानेपानी उपभोक्ता समितिलाई भनेपनि कुनै वास्ता नगरेपछि अवस्था झनै विकराल बन्दै आएको हो ।

खानेपानीको ट्याङ्की र पाइप व्यवस्थित गर्न लागिपरेको तर स्थानीयको लापरवाहीले नै खानेपानीका ट्याङ्कीहरूमा समस्या आएको दुनै खानेपानी उपभोेक्ता समितिका सचिव हिक्मत शाहीले बताए । उनले भने जुन टोलमा ट्याङ्की छ त्यही टोलका बासिन्दाले संरक्षण गर्ने सहमति गरेर ट्याङ्की बनाएको हो तर स्थानीयले नै मनपरी गर्दा त्यस्तो समस्या आएको उनको भनाई छ ।

घण्टाघण्टामा पालैपालो गरेर वितरण हुँदै आएको दुनै खानेपानी हाल पनि व्यवस्थित हुन नसकेपछि निरन्तर समिति लागि परेको सचिव शाहीले बताए । उनले भने–‘अब दसैँसम्म सबै क्षेत्रको खानेपानी व्यवस्थित हुन्छ । २४ घण्टै पानी आउँछ ।’

‘दुनै बजारमा रहेका खानेपानीका पाइपहरू यत्रतत्र छरिएका छन् । ट्याङ्कीमा दिसा र फोहोर भरिएको छ पानीको मुहान खुल्ला छ कसरी पानी सुद्ध पिउने आशा राख्नु ?’–स्थानीय गजेन्द्र केसीले गुनासो पोखे । स्थानीयले नै मनपरी गर्ने र खानेपानीका पाइप काट्ने ट्याङ्की भत्काउने र ढक्कन फुटाउने गरेपछि व्यवस्थित गर्न कठिन भएको उपभोक्ता समितिका अध्यक्ष बबिकिशोर गुरुङले बताए ।

०७४ कार्तिक ९ गते कर्णालीकै तेस्रो खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गरेपनि शौचालय भन्दा बाहिर दिसा गर्नेको सङ्ख्या झनै बढ्दो क्रममा रहेको सर्वसाधारण बताउँछन् । खुला दिसा मुक्त क्षेत्र घोषणा नाममा मात्र गरिएको तर जनतलाई चेतना दिन नसकेको उनीहरूको आरोप छ ।


विष्णुप्रसाद देवकोटा