दुधे बालक काखमा च्यापेर नुनको खोजीमा आमाहरू !

  ०७६ भदौ १० गते

चिसो मौसम ! चिसोले फुटेर राता भएका अनुहार । कपालमा रातो रुमाल । घाँटीमा रातो र सेतो भोटे माला । हातमा सेतो धातुको वाला । औँलामा पित्तलको औँठी र काखमा दुधेबालक । मसिनो बोली । पाँच महिनाअघि घर छाडेर बाजुराका महिला यतिबेला नुनको खोजीमा चीनतिर जाँदै गरेका छन् । हिमाली जिल्ला हुम्लाको डाँडा पखेरामा ज्यानको बाजी थाप्दै पाटन क्षेत्रमा त्रिपालको अस्थाई बास बनाएर बाजुरा बुढीगङ्गा नपा-७ पाण्डुसेनकी पवित्रा थापा डेढ वर्षे दुधे बालक काखीमा च्यापेर हुम्लाको नाम्खा गाउँपालिका-३ मा रहेको रानीखर्क हुँदै चीनको ताक्लाकोटमा नुन लिन जाँदै छिन् ।

Photo20190827Humla02

यतिबेला चीनको भोटे नुनको खोजीमा पवित्रा मात्र नभई बाजुराका दर्जनौँ महिला र बालबालिकाहरू हुम्ला जिल्लाको रानी खर्कमा रहेको हिमालमा पाइने जटीबुटि खनेर भोट (चीन)मा गएर नुनको जोहो गर्दछन् । वर्षात्को मौसममा पनि आकाशमा बादल लाग्ने बित्तिकै एक्कासी हिमपात र पानीको कुलो बग्ने हिमाली क्षेत्रमा बालबालिकाको विद्यालय छुटाएर भेडा बाख्राको बथानलाई स्याहार सुसार गर्दै गाँसबास जुटाउने बाध्यता रहेको पीडा सुनाउँछिन, पवित्रा ।

पति र केटाकेटी सहित जेठको पहिलो साता घरबाट हिँडेको पवित्रा थापाले सुनाइन् । हाल उनीहरू रानीखर्कमा जडीबुटी सङ्कलन गर्दै आएका छन् । रानीखर्कमा सङ्कलन गरेका जडीबुटी सहित उनीहरू ताक्लाकोट पुग्ने गर्दछन् । जडीबुटी बेचेर पैसा जम्मा गर्ने अनि त्यही पैसाले नुन र लत्ताकपडालगायत आवश्यक खाद्यान्न किन्ने पवित्रा बताउँछिन् । पवित्राका अनुसार यतिबेला सबै भोट जानलाई आएका छन् । मोटरबाटोको पहुँच नहुँदा बाजुराका दुर्गम क्षेत्रका नागरिक नुन किन्न भोट तिरै जान बाध्य छन् । अधिकांश घरका पुरुष रोजगारीका लागि भारत जाने भएकाले प्रायः महिला नै भोटका लागि निस्किने गरेका हुन् ।

उनीहरू भोट यात्राका लागि करिब तीनदेखि पाँच महिना घरबाहिर हुन्छन् । त्यस्तै पवित्राकै छिमेकी ३५ वर्षीया धनकला कार्की पनि दुई छोराछोरी साथै लिएर भोटको यात्रामा छिन् । 'गाउँमा कोही हुँदैनन्, केटाकेटीलाई घरमै छाडेर आउने कुरा भएन, त्यसैले साथै ल्याएको ।'-धनकलाले भनिन्-'केही जडीबुटी खनुँला र त्यही पैसा लिएर भोटबाट नुन र लुगाकपडा किनौँला भन्ने आशामा आएको ।'

Photo20190827Humla01

यसरी भोटतिर जानेमा अधिकांश जनजाति महिला रहेका छन् । उनीहरूले जटामसी, कटुकी, यार्सागुम्बा लगायत जडीबुटी सङ्कलन गर्ने गर्दछन् । लामो समय घरबाहिर रहँदा कहिले कहीँ गर्भवती महिला बाटैमा सुत्केरी समेत हुने गरेको बताउँछन् । हरेक वर्ष भोट लाग्ने क्रममा बाटैमा कोही न कोही सुत्केरी हुने गरेको धनकला कार्कीले बताइन् । बाटैमा बच्चा जन्मिए पनि सुत्केरी आमा ताक्लाकोट पुगेरै फर्किने गरेको धनकलाले बताइन् । हुम्लाको नाम्खा गाउँपालिका-३ का वडाध्यक्ष छपाल लामाले नुन किन्न भोट जाने क्रममा बाजुराका महिलाहरू बाटैमा सुत्केरी हुने गरेको सुनाए ।

विद्यालय जाने उमेरका बालबालिका समेत आफ्नी आमाको साथमा तिब्बततिर लाग्ने र उता पुगेर फर्कन कम्तीमा तीन महिना लाग्ने भएकाले बालबालिका शिक्षाको अधिकारबाट समेत वञ्चित हुने गरेको वडाअध्यक्ष लामाको भनाई छ । आाफ्नै जिल्लामा केही दिनमा बजार पुगेर नुन ल्याउन बाजुराको पाण्डुसेनका गाउँलेका लागि असम्भव छैन । तर, खास कुरा त नुन किन्ने र अरू घरायसी प्रयोजनका सामान किन्ने पैसामा अड्किन्छ । ताक्लाकोट जाँदा उनीहरू बाटोमा जडीबुटी सङ्कलन गर्छन् अनिमात्र उनीहरूको आर्थिक समस्या हल हुने गर्दछ ।

पहिले कर्णालीका खस वा तिब्बती सबै यो मौसममा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौँ लगाएर हिउँदमा त्यो सामान विक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने अनि गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर गाउँ फर्किने चलन थियो । गरिबीका कारण पाण्डुसेनका महिलाले त्यही परम्परा अझैसम्म धानेका छन् । पाण्डुसेनका महिलाले गाउँमै रोजगारीको अवसर पाएको भए आफ्ना बालबालिकाले पनि नियमित पढाइ गर्न पाउने आमाहरू बताउँछन् । शिक्षाका साथै मातृशिशुको स्वास्थ्यमा पनि सुधार हुने थियो ।


नन्द सिंह