दुई हजार भन्दा बढी घर डुबानमा

  महोत्तरी । ०७४ साउन २९ गते

महोत्तरीको सदरमुकाम जलेश्वरमा पसेको रातु खोलाको भेलले बगाउँदा साउन २९ गते जलेश्वर नगरपालिका २ खैराचोकका रामकुरमार ठाकुरका १४ वर्षीय छोरा विकी ठाकुरको मृत्यु भएको छ ।

महोत्तरीका एसपी कुवेर कठायतले दिएको जानकारी अनुसार घर नजिकैको कलमा पानी खान गएका बालक बिकीलाई भेलले बगाएर पोखरीमा पुर्‍याएपछि डुबेर त्यही मृत्यु भएको हो ।

विगत चार दिनदेखिको अबिरल वर्षाले महोत्तरीको रातु, जंगहा, अंकुशी र विग्ही नदीमा आएको भीषण बाढीले जलेश्वर नगरपालिका सहित १० नगरपालिका र ५ गाउँपालिकाका २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । बाढीबाट जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर र लोहारपट्टी नगरपालिका अत्यधिक प्रभावित भएको छ । बाढीबाट करिब ८ सय जना विस्थापित भएका छन् । जसमध्ये मटिहानी नगरपालिका जरलहवा टोलका ५ सय जना छन्।

२ सय घर पूर्णरुपमा भत्केको र ५ सय घरमा आंशिक क्षति पुगेको छ । जिल्लाका सवै विद्यालय बन्द गरिएको छ । विस्थापित परिवारलाई विभिन्न विद्यालयमा राखिएको छ ।

बाढीको पानी सदरमुकाम जलेश्वरमा प्रवेश गरेपछि जिल्ला प्रहरी कार्यालय, कारागार, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, शिक्षा, पशु, कोष तथा लेखा नियन्त्रण कार्यालयसहित दुई दर्जन सरकारी कार्यालय डुवानमा परेका छन् । कारागारमा १० फिट पानी प्रवेश गरेपछि ५ सय २ कैदीबन्दीलाई कारागारको माथिल्लो तल्लामा सारिएको छ । टेलिफोन, इन्टरनेट र विद्युत सेवा अवरुद्ध छ ।

भन्सार क्षेत्र मलिवारामा सशस्त्र प्रहरी राजस्व तथा भन्सार गुल्मको ब्यारेक डुवानमा परेको छ । त्यहाँका जवानलाई अहिले पशु क्वारेन्टाइन र जिल्ला भन्सार कार्यालयको ग्यारेजमा स्थानान्तरण गरेको छ । सदरमुकाम जलेश्वर जलमग्न छ ।

बाढीमा परेका नागरिकको उद्धारमा खटिएका महोत्तरी प्रहरीकै कार्यालय तथा क्वाटरहरू डुवानमा परेको छ। जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदालत लगायतका कार्यालय डुवानमा परेको हो।

महोत्तरीका १० वटा प्रहरी युनिट डुबानमा परेको छ । कार्यालयहरूमा ४ फिटसम्म पानी जमेको छ । सदमुकाम जलेश्वरलाई रातु खोलाको बाढीको पानीले चौतर्फी रुपमा घेरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।

वर्दिवास नपा ६ किसाननगरका स्थानीय बलराम कार्कीकाअनुसार रातु खोलाको बाढीले बर्दिबास नगरपालिका-६ किसानगर स्थित ३ सय मिटर बाँध भत्काएको छ । बालीनाली लगाएको जग्गा खोलाले कटान गर्न थालेको स्थानीय टेकबहादुर श्रेष्ठले बताए ।

डुवानका कारण करेसाबारी सोस्तर भएकाले किसान चिन्तित छन्। बाढीको भेलले महोत्तरीका सडकहरू क्षतविक्षत भएर प्रहरी गाउँ पस्न सकेका छैनन्। सडक अवरुद्ध हुँदा प्रहरीको एक युनिटबाट अर्को युनिट सम्मको यातायात सम्पर्क टुटेको छ।

रातु नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जोड्ने रातो पुल, जंगहा पुल भासिएको छ भने बाढीले लक्ष्मीनिया ५ स्थित खोलसि पुल बगाएपछि पश्चिमबाट आउने सवारी साधन सर्लाहीको जंगलमा र पूर्वबाट आउने धनुषाको लालगढमा रोकिएपछि सयौ यात्रु अलपत्रमा परेका छन् ।

प्राविधिक चेकजाँचपछि मात्र मालवाहक सवारी साधन सञ्चालन गरिने महोत्तरीका एसपी कुवेर कडायतले बताए। 'पुलमा धनुषा र महोत्तरीका प्रहरीको बाक्लो उपस्थिति बढाएका छौं। पुल लच्किएको खबर छ।' दुई वर्षअघि रातु पुलको सात पिलर मध्य महोत्तरीको दुई वटा पिलर भाँसिएपछि महिनौंसम्म यातायात सेवा अवरुद्ध बनेको थियो।

बर्दिवास नगरपालिकाको पाटुमा तीन ठाउँमा पहिरो जाँदा र वर्षाले माटो गलेर रुख खस्दा बीपी मार्ग अवरुद्ध छ । बाढीको पानी सडकमा १० फीट बग्न थालेपछि जलेश्वर जनकपुर, बर्दिवास जलेश्वर, मटिहानी जलेश्वर सडक खण्ड अवरूद्ध भई सदरमुकाम जलेश्वरसँग सम्पर्क विच्छेद भएको छ ।

त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको माइस्थानमा रहेको जंगाह खोलामा बाढीले बाटो भत्काएको छ । जंगाह खोलाको पुलको मुखमा बाढीले काटेर बाटो भत्किएपछि रातिदेखि नै पूर्व-पश्चिम राजमार्गमा यातायता अवरुद्ध भएको छ । पुलको पश्चिमतिरको पुल सपोट राति बाढीले बगाएको हो । जंगाह खोलाको पिलरको सपोट भत्किएको ठाउँमा एउटा मालवाहक ट्रक फसेको छ । ना ५ ख ६५१३ नम्बरको ट्रक पुलको सपोट भत्किएको ठाउँमा पल्टिएको छ ।

बाढीको पानीले महोत्तरीको अधिकांश सडक अवरुद्ध बनेको छ । यातायात बन्द छ । दैनिक उपभोग्य सामान किन्न स्थानीयलाई समस्या भएको छ ।

.

.

.

.

.

.

.

.

.

.

.


अजयकुमार साह