दुई वर्षदेखि शिक्षक कोटा खोसिँदा अपाङ्गता भएका विद्यार्थीको भविष्य अन्योलमा

  ०७६ साउन २८ गते

दुई वर्ष देखि भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सिबिआर) मा सात जनाको शिक्षक दरबन्दी खोसिएपछि उक्त केन्द्रमा अध्यनरत ७८ जना अपाङ्गता भएका विद्यार्थीको भविष्य अन्योल बनेको छ ।

सरकारबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वञ्चित हुँदा विशेष एवम् समावेशी शिक्षा ग्रहण गरिरहेका अपाङ्गता भएका विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो ।

दुई वर्ष देखि शिक्षकको तलब सुविधा समेत रोक्का भएपछि अपाङ्गता भएका बालबालिकाको विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको (सिबिआर) भक्तपुरका संयोजक रमेशराम श्रेष्ठले बताए ।

दुई वर्षअघि तत्कालिन जिल्ला शिक्षा कार्यालयले सिबिआरले पाउँदै आएको सात ओटा राहत शिक्षकको कोटा देश सङ्घीयतामा गएपछि माध्यमिक तहसम्मका शिक्षकहरूको जिम्मेवारी एवम् दायित्व नगरपालिकामा सरेपछि राहत शिक्षकको कोटा खोसिएको उनले बताए ।

सिबिआरले अपाङ्गता भएका बालबालिकाको लागि भक्तपुरका दुई र मध्यपुर थिमी नगरमा एक गरी तीनओटा विशेष विद्यालय सञ्चालन गर्दै आएको छ ।

ति विद्यालयमा १५ जना बहिरा तथा ६३ जना बौद्धिक, अटिजम र बहुअपाङ्गता भएका गरी ७८ जना बालबालिका अध्ययनरत छन् ।


सविना केसी