दुई वर्षदेखि वडा सचिव नहुँदा सेवा प्रभावित

  ०७६ भदौ ११ गते

गोकुलगङ्गा गाउँपालिकामा दुई वर्षदेखि वडा सचिवहरू नहुँदा नागरिकलाई प्रवाह गर्ने सेवा प्रभावित भएको छ ।

६ ओटा वडा रहेको सो गाउँपालिकामा वडा नं. ३ रस्नालु र वडा नं. ६ फर्पुमा दुई जना मात्र वडा सचिव रहेको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।

दुई जना मात्र वडा सचिवले काम गरिरहेको सो गाउँपालिकामा अहिले एक जना सचिवको समयोजनका क्रममा सरूवा भइसकेको अध्यक्ष सुनुवारले बताए ।

वडा नं. १ चचुरे, वडा नं. २ ठोसे, वडा नं. ४ बेताली र वडा नं. ५ नामाडीका वडामा सचिवहरू नहुँदा सर्वसाधारणहरू गाउँपालिकाको कार्यालयमै आउनु पर्ने बाध्यता रहेको अध्यक्ष सुनुवारले बताए ।

वडामा सचिवहरू नहुँदा वडाको दैनिक काम सम्पादनमा समेत समस्या भएको वडा नं ५ का वडा अध्यक्ष बलराम खड्काले बताए । गाउँपालिकामा समेत दरबन्दी अनुसारका कर्मचारीहरू नहुँदा काममा समस्या भएको उनले बताए ।

गोकुलगङ्गा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष शेरख श्रेष्ठले पनि वडामा सचिव नहुँदा काममा समस्या भएको बताए ।

कर्मचारीको अभावकै कारण गाउँपालिकाको गुरूयोजनालाई अघि बढाउन समस्या भएको भन्दै यस विषयमा जिल्ला प्रशासन कार्यालय, प्रदेश तथा सङ्घीय सरकारकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बारम्बार अनुरोध गर्दा पनि कर्मचारी नपठाएको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले जिल्लामा रहेका अतिरिक्त जनशक्ति स्थानीय तहमा पठाइसकेको र अब केन्द्रबाट कर्मचारी नपठाएसम्म कर्मचारी व्यवस्थापन गर्न नसकिने बताइन् ।


नवराज पथिक