दुई महिनापछि बलात्कार घटनाको उजुरी दर्ता

  ०७७ जेठ ३ गते

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालिनी नपा–६ जोगिनिया मुसलमान टोलका ३० वर्षीय जसमुल मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयले जेठ १ गते उजुरी दर्ता गरेको छ ।

पीडितले आरोपितविरुद्ध चैत ८ गते ईलाका प्रहरी कार्यालय हनुमाननगरमा र चैत ११ गते जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिनु भएको थियो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा चैत १७ गते स्वास्थ्य परीक्षण भएको छ ।

हनुमाननगर कंकालिनी नपा–६ जोगिनिया मुसलमान टोलका जफिर मंसुरीको घरमा उहाँकी छोरीसँग भेट गर्न गएकोमा खाना खाएर जानु भनेकाले बसिरहेका बेला आरोपितले फोन गरी चैत ७ गते राति ८ः०० बजे बोलाएर बाहिर निस्कँदा नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको र बिहान ४ः०० बजे मात्र छाडेको पीडितले बताउनु भयो ।

पीडितका अनुसार आरोपितले कुटपिट गरी गरगहना खोसी मोबाइलको सीम समेत फ्याकी दिएका छन् । पीडितका पति वैदेशिक रोजगारमा कतारमा छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनु भएका डिएसपी तिलक भारतीले लकडाउनका कारण आवश्यक प्रकृया मिलाउन समय लागेकोले दर्ता गर्न ढिलाई भएको बताउनु भएको छ ।

दुई महिना पछि प्रहरीले उजुरी दर्ता गरी घटना अनुसन्धान गर्न तत्परता देखाएको भन्दै पीडितले न्याय पाउने विश्वास व्यक्त गर्नु भयो ।


मनोहरकुमार पोखरेल