दुई महिनादेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

  ०७६ माघ २८ गते

मुगुम कार्मारोङ गाउँपालिका–४ किम्री स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी दुई महिनादेखि नहुँदा किम्री गाउँका सेवाग्राही सेवाबाट बञ्चित भएका छन् ।

मुगुम कार्मारोङ गाउँपालिका–४ किम्री गाउँको स्वास्थ्य चौकीमा कार्यरत अहेव जीतबहादुर मल्ल, अनमी कलावति बुढा, ०७६ पुस २ गतेदेखि स्वास्थ्य चौकीमा अनुपस्थित भएकाले किम्री गाउँका सेवाग्राही स्वास्थ्य सेवाबाट बञ्चित हुनु पुगेका हुन ।

पुस २ गतेबाट गाउँमा रहेको स्वास्थ्य चौकी बन्द रहेको छ । सामान्य चेक जाँचका लागि दुई घण्टा टाढाको पुल स्वास्थ्य चौकी पुग्नु पर्छ । स्वास्थ्य चौकीमा प्रसुति केन्द्र पनि छ, प्रसुति केन्द्र सेवाका लागि कार्यरत अनमी प्रसुति केन्द्रमा अनुपस्थित भएको दुई महिना भएको छ । गर्ववति महिला चेक जाँच गर्न दुई घण्टा टाढाको पुलु स्वास्थ्य संस्थामै पुग्नु पर्ने बाध्यता रहेको मुगुम कार्मारोङ गाँउपालिका–४ का मेमा लामाले बताउनु भयो ।

पुस २ गतेबाट स्वास्थ्य चौकी इन्चार्ज जीत बहादुर मल्ल र अनमी कलावति बुढा माघ २७ गतेसम्म स्वास्थ्य चौकीमा अनुपस्थित भएका छन् । स्वास्थ्य चौकी बन्द भएपछि गाउँका सर्वसाधरण स्वास्थ्य सेवा लिन दुई घण्टा टाढा मुगुम कार्मारोङ गाँउपालिका–५ पुलु स्वास्थ्य चौकीमा जानु पर्ने बाध्यता रहेको छ ।

किम्री स्वास्थ्य चौकीमा एक सिअहेव, एक अहेव, एक अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी भएपनि सिअहेव सरुवा भएर अन्य स्थानमा गएको र कार्यालय सहयोगीको जागिर अवधि सकिएकाले गाँउपालिकाले रिक्त दुबै पदमा सिअहेव र कार्यालय सहयोगी राखेको छैन । वडा कार्यालयबाट हाल कार्यरत अहेव जीत बहादुर मल्ल र अनमी कलावति बुढालाई स्वास्थ्य चौकीमा उपस्थित हुन पत्रचार गरेको भएपनि दुई महिनासम्म उपस्थित नभएपछि उनीहरूको तलब रोक्का गरिदिन गाउँपालिकालाई पत्रचार गरेको मुगुम कार्मारोङ गाँउपालिका–४ का वडा अध्यक्ष कार्मा तेन्जिन लामाले बताए ।


जीवन सेजुवाल