दुई महिनादेखि शिक्षक नहुँदा पठनपाठन प्रभावित

  ०७६ साउन २८ गते

शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित कृष्ण उच्च माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।

तीन महिनादेखि कक्षा ९ र १० मा अङ्ग्रेजी विषय पढाउने शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको हो ।

जेठ महिनादेखि विद्यालयमा अङ्ग्रेजी विषय पढाउने शिक्षक नभएको कक्षा १० मा अध्ययनरत विद्यार्थी वीरेन्द्रप्रसाद जोशीले बताए ।

'विद्यालयमा शिक्षक नभएको तीन महिना भयो । अहिलेसम्म विद्यालय प्रशासनले शिक्षकको व्यवस्थापन गरेको छैन ।'-उनले भने-'अङ्ग्रेजी विषयको पढाइ नै भएको छैन ।'

विद्यालयमा पठनपाठन सुरू भएदेखि अङ्ग्रेजी विषयको पढाइ नभएको कक्षा १० मै अध्ययनरत अभिषेक देउवाले बताए ।

अङ्ग्रेजी विषय पढाउने शिक्षक कृष्णदत्त पन्त जेठ १२ गते कृष्ण माध्यमिक विद्यालयबाट सरूवा भएर बेदकोट नगरपालिका सुडाको घटाल माध्यमिक विद्यालयमा गएपछि कक्षा ९ र १० को पढाइ प्रभावित भएको विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मी थापा ऐरले बताइन् ।

अङ्ग्रेजी विषयका शिक्षक सरूवा भएपछि सो दरबन्दीमा पाँच जनाको निवेदन परेको भएपनि हालसम्म शिक्षक नआएको निमित्त प्रधानाध्यापक ऐरले बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले शिक्षा विकास तथा समन्वय एकाई कञ्चनपुरले शिक्षक नपठाउँदा अङ्ग्रेजी विषयको पढाइ प्रभावित भएको बताए ।

शिक्षा विकास समन्वय एकाई, कञ्चनपरका निमित्त प्रमुख राजेन्द्र भट्टले चाँडै शिक्षकको व्यवस्थापन गरिने बताए ।


कोमलनिरन्जन भाट