दुई जिल्लाको एउटै कारागार हुँदा व्यवस्थापनमा समस्या

  ०७४ चैत २१ गते

स्थानीय तह पुर्नर्संरचना हुँदा पूर्व र पश्चिम गरी रूकुम जिल्लालाई दुई भागमा विभाजन गरिएपनि कारागार भवन भने एउटा मात्र हुँदा कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ ।

रूकुम पूर्वमा जिल्ला अदालत, सरकारी वकिल कार्यालय, र जिल्ला प्रहरी कार्यालय तथा पश्चिममा कारागार हुँदा कैदीबन्दीलाई प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा हाजिर गराउनै समस्या भएको हो ।

कारागारको आफ्नै सवारी साधन नभएको, कर्मचारी पनि कम भएको र टाढाको दुरी हुँदा जोखिमपूर्ण रूपमा लाने ल्याउने गर्नु परेको कारागार प्रमुख बलबहादुर केसीले गुनासो गरे ।

रूकुम पश्चिममा रहेको कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पनि छँदैछ ।

२५ जनाको क्षमता भएको यस कारागारमा एक जना नाबालक सहित ७४ पुरूष र ६ महिला गरी ८० जना कैदी बन्दी रहेका कारागार प्रमुख बलबहादुर केसीले बताए । उनका अनुसार यीमध्ये २१ जना थुनुवा छन् ।

रूकुम पूर्वमा कारागार स्थापना गरी सो क्षेत्रका बन्दीलाई स्थानान्तरण गर्दा सहज हुने उनको सुझाव छ । क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा पालो मिलाएर सुत्नुपर्ने, शौचालय र खानेपानीको प्रयोग लगायतमा समस्या भोग्नु परेको कैदीहरूले गुनासो गरेका छन् ।

यसका साथै कारागारको भौतिक संरचना समेत पुरानो र जीर्ण अवस्थामा छ । सुरक्षा भवन, कम्पाउण्ड वाल, बन्दीगृह जीर्ण र अपर्याप्त हुँदा जोखिम बढेको छ ।


मनिषा केसी