दुई जिल्लाका कैदीबन्दी एकैठाउँमा राखिँदा व्यवस्थापनमा समस्या

  ०७६ जेठ ८ गते

दुई जिल्लाका कैदीबन्दी एकै ठाउँमा राखिँदा जिल्ला कारागारमा रहेका कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ ।

‘घ’ श्रेणीको कारागारको क्षमता २५ जनाको भएपनि अहिले जिल्ला कारागारमा १ सय ४ जना कैदीबन्दी रहेका छन् । रुकुम पूर्वमा कारागार नहुँदा दुवै जिल्लाका कैदीबन्दीलाई एकै ठाउँमा राखिएको हो ।

पुरुष ब्लकमा ९६ र महिला ब्लकमा आठ जना कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ । थोरै बन्दी राख्न बनाइएको कारागारमा धेरै राख्दा खान, बस्न समस्या हुने गरेको जिल्ला कारागारका प्रमुख लोकबहादुर घर्तीले जानकारी दिए ।

कैदीबन्दीको सङ्ख्या धेरै हुँदा शौचालय जान, सरसफाई गर्नका लागि पानीका साथै स्थानको समेत अपुग हुने गरेको कैदी लालबहादुर बोहराले बताए ।

ठाउँ अभावका कारण खान र बस्न समेत पालैपालो गर्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । केही कैदीबन्दीबीच सोही विषयमा विवाद समेत हुने गरेको बोहराको भनाई छ ।

राति सुत्दा पनि कोचाकोच गरेर सुत्नुपर्ने बाध्यता रहेको कैदी सुविन्द्र घर्ती बताउँछन् । जाडोमा त्यति अप्ठेरो नभएपनि गर्मी मौसममा कोचाकोच गरी सुत्दा निकै सास्ती खेप्नुपरेको उनले बताए ।

सबै कैदीबन्दीहरू दुई जिल्लाकै भएकाले अन्यत्र जान नमान्ने समस्याले गर्दा पनि कारागारमा धेरै कैदीबन्दी भएको कारागार प्रमुख घर्तीले बताए ।

बहस र अनुसन्धानका लागि रुकुम पुर्व लैजाने गरिएपनि सो पछि कैदीबन्दीलाई राख्न रुकुम पश्चिममै ल्याइने गरिएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भवन निर्माणका लागि चालु चालु आर्थिक वर्षमा १ करोड रुपियाँ बजेट विनियोजन गरेपनि निर्माणको काम भने सुरू भएको छैन ।

प्राविधिक नभएका कारण विस्तृत परियोजना प्रतिवेदन बनाउन नसकिएको र निर्माणमा ढिलाई भएको कारागार प्रशासनले जनाएको छ ।


मनिषा केसी