दुई अस्पतालका तीन एम्बुलेन्स 'कवाडी'मा परिणत

  ०७४ साउन २७ गते

महोत्तरीको प्रमुख बजार केन्द्र बर्दिबास नगरपालिका र सम्सी गाउँपालिकाका दुई सरकारी अस्पतालका तीन एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएपछि 'कवाडी'मा परिणत भएको छ । एम्बुसेन्स बिग्रिएपछि स्थानीयलाई समस्या भएको छ ।

सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भारत सरकारको सहयोगमा प्राप्त ज १ च ६२६ नम्बरको एम्बुलेन्स बिग्रिएको केही महिनाको अन्तरालमा युएनएफपीएमार्फत प्राप्त भएको ज १ झ ३५९ नम्बरको एम्बुलेन्स पनि बिग्रेर अलपत्र अवस्थामा अस्पतालको एक कुनामा थन्क्याएर राखिएको छ । अस्पतालले एक/दुई हजार रूपियाँको व्यवस्था गरेर मर्मत नगर्दा सरकारी सम्पति कवाडीमा परिणत भएको स्थानीयले आरोप लगाएका छन् ।

एम्बुलेन्स मर्मतको लागि आफू प्रयासरत रहेतापनि रकमको व्यवस्था नहुँदा चाहेर पनि गर्न नसकेको अस्पतालका इञ्चार्ज शिव कैलाश साह बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालयमा गुहार गर्दासमेत कँहिकतैबाट मर्मतको लागि पहल हुन नसकेको इञ्चार्ज साहले बताए ।

अस्पतालमा एम्बुलेन्सको सुविधा नभएपछि आपतकालीन अवस्थामा भएका बिरामीहरूले गाँउबाट आफैँले ल्याएको जीपमार्फत उपचारको लागि बाहिर लाने गरेको इञ्चार्ज साहले बताए ।

०५५ सालमा स्थापित सो अस्पतालमा विगत तीन वर्षदेखि अस्पताल व्यवस्थापन समितिविहीन भएपछि यस्ता सिर्जनाहरू सिर्जित भएको सो अस्पतालमा कार्यरत एक चिकित्सकले बताएका छन् ।

त्यसैगरी मर्मत सम्भारको अभावमा बर्दिबासस्थित जिल्ला अस्पतालको एम्बुलेन्स पनि विगत एक वर्षदेखि अस्पताल परिसरको एक कुनामा थन्क्याएर राखिएको छ ।

उक्त अस्पतालको ज १ झ ३६० नम्बरको एम्बुसेन्स बिग्रिएको एक वर्षभइसक्दा पनि मर्मत सम्भार गर्न खर्च नभएपछि मर्मत गराउन नसकिएको अस्पतालका मेसु विधानचन्द्र झाले बताए ।

पाकिस्तान सरकारले उपहार स्वरूप दिएको ना १ झ ९४८ नम्बरको अर्को एम्बुलेन्स मर्मत सम्भारको अभावमा गाउँभन्दा बाहिर सेवा दिन नसक्ने अवस्थामा छ ।

.

.

.


अजयकुमार साह