दिनभर प्रदर्शन, प्रहरी भ्यान तोडफोड, प्रहरीद्वारा लाठी चार्ज

  ०७६ साउन ३२ गते

टेलिभिजन प्रस्तोता रवी लामिछानेका समर्थकहरूले साउन ३२ गते दिनभर चितवनमा प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको मुलगेट नजिक उपस्थित उनीहरूले रवीको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले दिउँसो १२ बजे आसपास जिल्ला प्रहरी कार्यालय चितवनको बा १ झ १२७१ नम्बरको भ्यानमा इँटा प्रहार गरेका थिए ।

इँटा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठि चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

m

प्रहरीले माइकिङकमार्फत पछि हट्न आग्रह गरे पनि समर्थकहरू जोस्सिएर झनै अघि बढ्ने प्रयास गर्दा पटकपटक लाठीचार्ज र अश्रुग्याँस प्रहार गर्न बाध्य भएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए ।

प्रदर्शनकारी र प्रहरीबिच पटकपटक भागदौड मच्चिएको थियो । सो क्रममा महिला र बालबच्चासमेत लड्न पुगेका थिए ।

साँझ ५ बजेको समयमा प्रदर्शनकारीले प्रहरी घेरा पुनः तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । सो क्रममा केही व्यक्तिहरू घाइते भएका छन् । सामान्य घाइते भएकाहरू उपचारपछि घर फर्किएको डिएसपी एकनारायण कोइरालाले बताए ।

जिल्ला प्रहरी कार्यालय अगाडि साउन ३१ गते भेला भएका रवि लामिछानेका समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । १० सेल अश्रुग्यास प्रहार भएपछि समर्थकहरु तितरबितर भएका थिए ।

रविका समर्थकहरूले ढुङ्गा प्रहार गरेपछि आफूहरूले बाध्य भएर अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहले बताए । सो क्रममा पाँच जना प्रहरी सामान्य घाइते भएका थिए ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित अन्य दुईजना युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन अदालतले अनुसन्धानका लागि पाँच दिनको समय दिएको छ ।

साउन ३० गतेबाट लागु हुने गरी पाँच दिनको म्याद थप भएको चितवन अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए ।

अनुसन्धानका लागि १० दिनको समय माग भएकोमा पाँच दिन दिइएको हो । उनीहरू तीनै जनालाई प्रहरीले साउन ३० गते काठमाडौँबाट गिरफ्तार गरी चितवन ल्याएको थियो । आत्महत्या दुरुत्साहन अन्तर्गत उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भदौ २ गते उनीहरूलाई पुनः अदालत पेश गरिने छ । म्याद थप गरेर हिरासतमै राखी अनुसन्धान गर्ने वा तारेखमा छाडेर अनुसन्धान गर्ने भन्ने विषयमा सरकारी वकिल र रवि लामिछाने पक्षका वकिलबिच बहस भएको थियो ।

लामिछानेका तर्फबाट वकिल सुनिल पोखरेल काठमाडौँबाट आएका थिए भने चितवनमा पूर्व बारका अध्यक्ष चुडामणी सापकोटाले बहस गरेका थिए ।

‘हिरासतमा नरहेर पनि मुद्दा लड्न सकिन्छ ।–वकिल सापकोटाले भने–‘रविजीको मुद्दामा पनि त्यही गर्न खोजिएको हो तर अदालतले हिरासतमै राख्नु भनी म्याद दिएको छ ।’

लामिछानेका समर्थकले जिल्ला अदालत परिसर दिनभरजसो घेराउ गरेका थिए । अघिल्लो र पछिल्लो दुवै गेटमा दिनभर रविको पक्षमा नाराबाजी गरेका उनीहरूले रविलाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।

समर्थकको भीडका कारण रविलाई अदालतसम्म म्याद थपका लागि लैजान र हिरासतमा फिर्ता गर्नका लागि प्रहरीलाई हम्मेहम्मे परेको थियो । जिल्ला प्रहरी कार्यालय अगाडि मुलगेटमै उनीहरूले कोणसभा गरेका थिए ।

पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोमा आफू मर्नुको कारण टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र युवती अस्मिता कार्की रहेको उल्लेख छ ।

अहिलेसम्म कोहीविरूद्ध पनि किटानी उजुरी नपरेको प्रहरीको भनाई छ । आफन्तले सुरूका दिनमा दिएको सामान्य निवेदनको आधारमा अनुसन्धान अघि बढिरहेको एसपी दानबहादुर मल्लले बताए ।

साउन २२ गते त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल काठमाडौँमा शवको पोष्टमार्टम भएको हो । साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुण्डिएको अवस्थामा नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षका शालिग्राम पुडासैनीको शव फेला परेको थियो ।


दिपेन्द्र अधिकारी