दिनभरको ज्याला २ सय १० रुपियाँ, महिला र पुरुषमा ज्यालामा विभेद !

  ०७६ पुस २८ गते

छायाँनाथ रारा नगरपालीका—५ की ५० बर्षिया सन्चौरा बिकले गाउँ नजिकको विद्यालय भवनका लागि चाहिने गिट्टी कुट्ने काम पाउनुभएको छ ।
दिनभर गिट्टी कुटे बापत प्रतिदिन २ सय १० रुपियाँ कमाउनुहुन्छ । उहाँ दिनमा ३० केजीको चामल हाल्ने बोराको तीन बोरा गिट्टी तयार पार्नुहुन्छ ।
सन्चौर जस्तै सोही वडाका अन्य महिलाहरु पनि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गिट्टी कुटेर २ सय १० रुपियाँ कमाउँछन् ।
छायाँनाथ रारा नगरपालिका—५ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कार्काीवाडाको भवन निर्माणको लागि चाहिने गिट्टी कुट्न सोही वडाका ढुुमा र कार्कीवाडा गाउँका ४० जना महिलाले गिट्टी कुट्ने मजदुरी गर्दै आएका छन् ।
सदरमुकाम गमगढी बजारमा व्यपारीहरुका गाडीको सामन बोके बापत दिनमा ८ सय रुपियाँ देखि १ हजार ५ सय रुपियाँसम्म कमाइ हुने गरेको थियो ।
हिमपातले सडक यातायात अबरुद्ध भएपछि व्यपारीको सामन ल्याउने मालबाहक गाडीहरु बिचबाटोमै रोकिएकाले घरमा बस्नु भन्दा केही आम्दानी हुन्छ कि भनेर गिट्टी कुट्ने काममा लागेको भएपनि प्रति ३० केजीको बोरा बापत ७० रुपियाँ मात्र ज्याला दिने विद्यालयको निर्णयले गर्दा उनीहरुले उचित ज्याला नपएका हुन् ।
चिसो भएर होला दिनभरी तीन बोरा मात्र गिट्टी कुट्न सकिने गरेको र तीन बोरा बापत २ सय १० रुपियाँ मात्र ज्याला आउने बाँचु रोकायाले बताउनुभयो ।
गाँउघरमा अहिले हिमपात र अन्य कारणले विकास योजनाका कामहरु पनि छैनन् । योजना आइहाले पनि ज्यालामा महिला पुरुषको  असमनता अझै छ ।
दिनभर घर बनाउने ढुङ्गा बोक्ने काम गरेपनि ५ सय रुपियाँदेखि ७ सय रुपियाँसम्म ज्याला पाइन्छ । तर, गिट्टी कुट्ने जस्तो जोखिम कामको भने ज्याला अहिलेसम्म कसैले राम्रो नदिएको सोही वडाकी हरिनी बिकले बताउनुभयो ।
मिस्त्री मजदुरी गर्नेहरुको प्रति दिन ८ सय १० रुपियाँ र  ज्यामी मजदुरी गर्नेहरुको प्रति दिन ६ सय १५ रुपियाँ ज्याला दर रेट भएको भएपनि कुनै पनि विकास निर्माण होस या निजी काममा महिला पुरुषबिच ज्यालमा असमनता हुने गरेको नागरिक समाजका अगुवा रुपबहादुर मल्लले बताउनुभयो ।


जीवन सेजुवाल