दार्चुलामा ५ हजार मेट्रिक टन खाद्यान्न अपुग

  ०७४ साउन २ गते

दार्चुलामा गत आर्थिक वर्षमा झण्डै ५ हजार २३ मेट्रिक टन खाद्यान्न अपुग भएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालले साउन २ गते आर्थिक वर्ष ०७३/०७४ को अन्तिम चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त परिणाममा खाद्यान्न अपुग भएको देखाएको हो ।

चैतदेखि आसारसम्मको चौमासिक प्रतिवेदन अनुसार जिल्लामा प्राकृतिक प्रकोप, असिना पानी, हिउँदे बालीको उत्पादन घटेको कारण खाद्यान्न अपुग भएको बरिष्ठ कृषि विकास अधिकृत सूर्यप्रसाद बरालले जानकारी दिए । तर, खाद्यान्नमा प्रयोग हुने आलु, दलहन बालीको उत्पादन जोडिएको छैन । आलु दलहन बालीलाई खाद्यान्नको रूपमा जोड्ने हो भने जिल्लामा खाद्यान्नको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

दार्चुलामा आवश्यक २६ हजार ७ सय ८८ मेट्रिक टन खाद्यान्न मध्ये २१ हजार ७ सय ६५ मेट्रिक टन खाद्यान्न उपलब्धता रहेको छ । यस्तै नेपाल खाद्य संस्थानको धनगढी कार्यालयबाट दार्चुलाका तीन डिपोमार्फत ६ हजार ५ सय ९४ क्वीन्टल खाद्यान्न वितरण गरिएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा धान ७ हजार २२ मेट्रिक टन, मकै ८ हजार १ सय १ मेट्रिक टन, गहुँ ५ हजार ७ सय ९३ मेट्रिक टन, कोदो ८ सय ८ मेट्रिक टन र जौ ४२ मेट्रिक टन उत्पादन भएको बरिष्ठ कृषि विकास अधिकृत बरालले जानकारी दिए ।

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली अनुसार गरिएको खाद्य सुरक्षा अवस्थाको विश्लेषण अनुसार गत चौमासिक खाद्य सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ । यस्तै आगामी चौमासिक अवधि पनि सामान्य अवस्थामा रहने देखिएको छ ।


नरेन्द्रसिह कार्की