दाङमा २६ मतदान स्थल संवेदनशील, ६ ओटा अति संवेदनशील

  ०७६ कात्तिक २० गते

मङ्सिर १४ गते गरिने उपनिर्वाचनमा दाङमा तोकिएका ३४ मतदानस्थलमध्ये २६ ओटा मतदानस्थल संवेदनशील र ६ ओटा अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङको निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ मा हुने प्रदेशसभा सदस्य निर्वाचन र घोराही उपमहानगरपालिका–१६ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि तोकिएका कुल ३४ मध्ये २६ ओटा मतदानस्थल सुरक्षाका हिसावले संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भट्टराईले बताए ।

प्रहरीका अनुसार ६ ओटा मतदानस्थल अति संवेदनशील छन् भने दुई ओटा मतदानस्थल मात्रै सामान्य रहेका छन् ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र तोकिएको छ भने घोराही उपमहानगरपालिका–१६ मा दुई ओटा मतदानस्थल र पाँच ओटा मतदान केन्द्र तोकिएको छ ।

एसपी भट्टराईले सुरक्षा संवेदनशीलता भएपनि स्वच्छ, भयरहित र शान्तिपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाइएको बताए ।

महिला मतदाता धेरै, एक जना तेस्रो लिङगी मतदाता
एक प्रदेशसभा सदस्य र एक वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा महिला मतदाता धेरै रहेका छन् । कुल ७३ हजार १ सय ७२ मतदातामध्ये ३७ हजार ३ सय ५ जना महिलाको नाम मतदाता सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जसअनुसार प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुने दाङ क्षेत्र नं. ३ ‘ख’ मा ३४ हजार ९ सय ४० र घोराही उमनपा–१६ मा २ हजार ३ सय ६५ महिला मतदाता रहेका छन् । प्रदेशसभा निर्वाचन हुने क्षेत्रमा एक जना तेस्रो लिङगी मतदाताको नाम पनि समावेश रहेको छ ।


जे.एन.सागर