दाइजो पीडित अमृतालाई पढ्न आर्थिक सहयोग

  ०७३ माघ २७ गते

दाइजो पीडित वर्दिवास नपा-८ फुलवारी टोलकी अमृताकुमारी कापरलाई पढ्नका लागि दाइजो प्रथा विरुद्ध लड्ने सिद्धार्थ बिजनेस ग्रुप काठमाडौँले माघ २६ गते आर्थिक सहयोग प्रदान गरेको छ । अमृताको घरमै पुगेर सिद्धार्थ ग्रुपले पढाउन पहिलो चरणमा १५ हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो ।

गरिबीका कारण कक्षा नौ मा पढाइ छाडेकी अमृताका बुवा ५५ वर्षीय रामप्रकाश कापरले छोरीको विवाह गर्न खेत बेचेर ज्वाइँलाई मोटरसाइकल, नगद र सरसमान गरी ४ लाख ५० हजार रुपियाँ दाइजोमा खर्चिएका थिए । तर, उनका ज्वाँइ धनुषा जिल्ला कान्छीबजार-९ का रौदी कापरले दाइजोमा लैनो भैँसी ससुराले नदिएको भन्दै सिन्दुर हालिसकेकी अमृतालाई माघ ११ गते छाडेका थिए । माघ ९ गते मात्रै अमृताको धुमधामका साथ विवाह सम्पन्न भएको थियो ।

सिद्धार्थ बिजनेस् ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले अमृताको बारेमा इन्सेक अनलाइनलगायत  विभिन्न सञ्चार माध्यममा समाचार पढेपछि उनको पढ्ने इच्छा रहेको थाह पाएर उनलाई आर्थिक सहयोग गरेको बताए । उनले भने-'अमृताले पढ्न चाहे आफ्नो बिजनेस् गु्रपले सम्पूर्ण खर्च उपलब्ध गराउने छ ।'

सिद्धार्थ ग्रुपले पीडितको गाउँकै जनजागृति मावि कृष्णपुरमा पढ्ने व्यवस्था मिलाइ दिएको छ । विद्यालयबाट हुने शुल्क मिनहा गर्ने र राम्रो पढे जेहेन्दार छात्रवृत्ति पनि दिने विद्यालयका प्रधानाध्यापक बलबहादुर सिलवालले बताए ।

अमृताले दाइजो नलिने केटासँग मात्र विवाह गर्ने बताएकी छन् । पढेर दाइजोजनित हिंसालगायत समाजको विकृति विसङ्गती विरुद्ध लड्ने उनको भनाइ छ । पीडित पक्षले भने आजसम्म न्यायका लागि प्रहरीमा उजुरी गरेका छैनन् ।


अजयकुमार साह