दाइजो नदिएको भन्दै विवाह स्थगित 

  ०७६ फागुन ३० गते

धनुषाको नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदा र धनुषाको मिथिला विहारी नगरपालिका बस्ने रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग फागुन २५ गते हुने विवाह सहमति अनुसार दाइजो नदिएको भन्दै स्थगित भएको छ ।

photo20200313dhanusha (1)

दुई आना सुन र १२५ सि.सि. को मोटरसाइकल माइती पक्षले दाइजोमा दिने गरि फागुन २५ गते पुजा र सुशीलबिच विवाहका गरिने दुवै परिवारबिच सहमति भएको थियो ।

विवाहको लागि पूर्वसहमतिअनुरुप फागुन २५ गते साँझ जटहीमा बेहुली पुजाको घरमा विवाहको सम्पूर्ण तयारी समेत गरियो, विवाहको स्वयंबरको लागि पण्डाव गाडिएको थियो, मडवा बनाइयो, सयौं जनाले खाने खाना पकाइएको थियो भने घरमा विवाहको गीत डिजेमा बजि रहेको थियो, घरमा आफन्त, नातागोता र छरछिमेकहरूको आवतजावत भई रहेको थियो ।

photo20200313dhanusha (3)

तर पूर्वसहमति अनुरुप बेहुला पक्षले फागुन २५ गते साँझ विवाह गर्न नआउने फोनमा जानकारी दिएका थिए । कारण थियो विवाह पूर्व नै केटा पक्षले दाइजोमा मागेको मोटरसाइकल केटी पक्षले दिएका थिएनन् । विवाहको लागि सम्पूर्ण तयारी गरिएपनि बेहुला पक्ष विवाह गर्न नआएपछि बेलुही पक्ष थप आर्थिक मारमा परेका छन् ।

आर्थिक अवस्था निकै कमजोर भएपनि बेचनी सदाले छोरीको विवाह उत्सव मनाउनका लागि ५ लाख रुपियाँ ब्याजमा ऋण लिएर सबै तयारी गर्नु भएको थियो ।  तर फागुन २५ गते साँझ केटा पक्षले फोन गरेर ‘दाइजोका रुपमा मोटरसाइकल पहिले नै नदिएकाले अब जन्ती नआउने खबर दिएको दुलहीका आमा बेचनी सदाले बताउनु भयो ।

photo20200313dhanusha (2)

नगराइन नगरपालिकाका उपमेयर रञ्जु देवी साहले हामीले दाइजोमुक्त समाज निमार्णका लागि अभियान चलाउने बताउँदै दाइजोकै लागि विवाह गर्न नआउने केटा पक्षलाई कारवाहीका लागि पहल गर्ने बताउनु भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले दाइजोको कारण विवाह गर्न जन्ती नलिएर आएको बारेमा प्रशासनमा उजुरी गरेको खण्डमा केटा पक्षलाई कारवाही गरिने बताउनु भएको छ ।

‘मोटरसाइकल विवाह पहिले नै नदिएको भन्दै विवाह गर्न नआएको सजिएकी दुल्ही पुजा कुमारी सदाले दाइजो लोभी केटासँग विवाह नगर्ने बताउनु भएको छ । उहाँको अनुसार दाइजोको लागि विवाह गर्ने केटासँग बिहे गरेर म के गरौँला र? भोलि कुनै बहानामा कुटपिट गर्न सक्छन्, तर दाइजोकै लागि विवाह गर्न नआएकाले त्यस्ता व्यक्तिलाई कारवाही हुनुपर्ने माग उहाँको छ ।


दिपेन्द्रप्रसाद सिंह