दाइजो नदिएको कारण हत्या गरेको माइती पक्षको आरोप

  ०७७ जेठ १८ गते

बटेश्वर गाउँपालिका-२ की २० वर्षीया संगिता कापरलाई पति २५ वर्षीय अनिल कापरले दाइजोमा नयाँ मोटरसाइकल नदिएको भन्दै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । संगिताको जेठ १६ गते साँझ घाँटी थिचेर हत्या गरेको मृतकका बाबु रामअयोध कापरले आरोप लगाउनु भएको छ ।

एक मोटरसाइकल, सुनसहित झण्डै १० लाख रुपियाँ बराबरको दाइजो दिएर छोरीको विवाह गरेकोमा पुनः नयाँ मोटरसाइकल दाइजोमा ल्याउन छोरीलाई पटक-पटक दबाब दिएको रामअयोध कापरले बताउनु भएको छ ।

शवको जेठ १७ गते प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टम भयो । पोस्टमार्टमको रिर्पोट आउन बाँकी छ । माइती पक्षले जेठ १७ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिन जाँदा प्रहरीले दर्ता नगरेको पीडित पक्षले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले संगिता झुण्डिएको खबर पाएको र उनको उपचारका लागि ल्याउने क्रममा गाउँकै क्लिनिकमा मृत्यु भएको खबर आफूले पाएको बताउनु भयो । शवको पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे अनुसन्धान थालिने इन्स्पेक्टर नायकले बताउनु भयो ।


दीपेन्द्रप्रसाद सिंह