दाइजो तथा बाल विवाहविरूद्ध १ सय दिने अभियान सुरू

  ०७६ भदौ २५ गते

दाइजो तथा बाल विवाहविरूद्ध १ सय दिने अभियान भदौ २४ गते जनकपुरमा एक कार्यक्रमको आयोजना गरी सुरू गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, ओरेक, मिथिला बाल क्लव, जिल्ला युवा सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय र एमनेष्टी इन्टरनेशनललगायतका सङ्घ संस्थाको संयुक्त आयोजनामा यस्तो अभियान सुरू गरिएको हो ।

Photo20190911Dhanusha (1)

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष दिपक झाले दाइजो तथा बालविवाह जस्ता कुप्रथालाई जरैबाट अन्त्य गर्न ग्रामीण तहसम्म पुग्नु पर्ने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ का संयोजक राजु पासवानले दाइजोका कारण महिलामाथि हुने हिंसा अन्त्य गर्नका लागि यो अभियान सुरू गरिएको बताए ।

दाइजो नल्याएको आरोपमा महिलालाई जिउँदै आगो लगाउने, झुण्याएर हत्या गर्ने, कुटपिट गर्ने र घर निकाला गर्ने जस्ता मानव अधिकार उल्लङ्घनका घटना दिनप्रतिदिन बढ्दो क्रममा रहेको बताइएको छ ।

Photo20190911Dhanusha (2)

यस्ता प्रथाको अन्त्याका लागि भएका कानुनको कार्यान्वयन गर्न र सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्न अधिकारकर्मीले ध्यानाकर्षण गराउनुका साथै बहस तथा पैरवी गर्नु पर्नेमा इन्सेक प्रदेश २ का संयोजक पासवानले जोड दिए ।

अधिवक्ता रेखा झाले दाइजो नल्याएकै कारण वा कम ल्याएकै कारण महिलामाथि हुने अमानवीय अपराधबारे स्थानीय स्तरदेखि प्रदेश स्तरसम्मका सरोकारवालाहरूको ध्यानाकर्षण गराइन् ।

बालविवाहलाई प्रोत्साहन गर्ने प्रचलित सामाजिक, सांस्कृतिक र परम्परागत मान्यतामा आधारित सोच र व्यवहार परिवर्तनका लागि बालबालिका, किशोरकिशोरी, युवा, अभिभावक, शिक्षक, धार्मिक, राजनीतिक तथा सामुदायिक अगुवा, सङ्घ सङ्गठनलगायत सरोकारवालाहरूको क्षमता विकास गरी परिचानलन गराउनु पर्ने उनले बताइन् ।

दाइजोकै कारण महिलामाथि गरिने अमानवीय व्यवहार तथा आपराधिक क्रियाकलपाहरू अन्त्यका लागि सूचनामूलक अभियानद्वारा समुदायलाई सचेत र संवेदनशील गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सहभागीहरूले जोड दिए ।


इन्सेक प्रदेश नं. २ कार्यालय, जनकपुरधाम