दाइजोको निहुँमा हत्या प्रयास, आरोपितविरुद्ध उजुरी

  ०७४ चैत २३ गते

छिपहरमाई गाउँपालिका-४ तुलसीवर्वा की १८ वर्षीया रविना खातुनलाई २२ वर्षीय पति साविर मियाँ धोवी, ५२ वर्षीय ससुरा फर्जन मियाँ, ५० वर्षीया सासू शोभा खातुन र १७ वर्षीया नन्दा नजरानाले आगो लगाएर हत्या गर्ने प्रयास गरेको भन्दै पीडितले चैत २२ गते जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितहरूले चैत १३ गते जलाएर कुनै उपचार नगराई घरमै बन्धक बनाएर राखेको पीडित खातुनले बताइन् । 'पति र उनको परिवारले गहना दाइजो बापत माग गरेका थिए । मैले हुदैन भनेपछि उनीहरूले आगो लगाए ।'- पीडित खातुनले भनिन् ।

आफूले लगाएका गहना खोसेर घरबाट निकाल्न खोज्दा प्रतिकार गरेपछि आगो लगाएको उनले बताइन् । सुरूमा नन्दले आगोको अगुल्टोले पोलेको उनले बताइन् । नन्दले आगो झोस्न थालेपछि परिवारका अन्य सदस्यले आफूलाई समातेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले घटनाको प्रकृति हेर्दा परिवारजनबाट मार्ने नियतले आगो लगाएको बताए ।

चैत १३ गते घटना भएपनि खातुन चैत २१ गते घरबाट भागेर बीरगञ्ज चल्ने बसमार्फत बीरगञ्ज मनपा-३ छपकैयामा रहेको आफ्नी ठूली आमाको घरमा आइपुगेपछि मात्र चैत २२ गते घटना सार्वजनिक भएको हो ।

पीडित खातुन चैत २२ गते महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गर्न पुगेपछि उनलाई उपचारको लागि भर्ना गरिएको लिम्बुले बताए ।

खातुनको उपचार बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ । खातुनको दाहिने गोडा र कम्मरमा आगोले पोलेको छ ।

पीडित खातुनले दिएको उजुरीका आधारमा प्रहरीले आफ्नो मातहत निकायालाई घटनामा सङ्लग्न आरोपितहरूलाई उपस्थित गराउनका लागि निर्देशन दिएको लिम्बुले बताए । प्रवक्ता लिम्बुका अनुसार खातुनका पति भने फरार भएका छन् । तीन वर्षअघि उनको विवाह भएको थियो ।


केसी लामिछने