दशैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो

  ०७७ कात्तिक ६ गते

सामाजिक सुरक्षा भत्ताको आशामा रहेका खाँदबारी नगरपालिकाका ज्येष्ठ नागरिकले दशैँको मुखमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

कोभिड–१९ को संक्रमण र पर्वको अवसरमा मिठो मसिनो खाने र राम्रो कपडा लगाउने आशमा बसेका ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नपाउदा निराश भएका छन् ।

कोभिड–१९ लाई कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका हुन् ।

सरकारले दिने भत्ता नदिएपछि खाँदबारी नगरपालिकाका धेरै जसो ज्येष्ठ नागरिक दशैं कसरी मनाउने चिन्तामा परेका छन् ।

खाँदबारी नगरपालिकाले कर्मचारी, शिक्षक र जनप्रतिनिधिको तलब र पर्व खर्च निकासा गरेपनि सामाजिक सुरक्षा भत्ता भने वितरण गर्न नसक्दा ज्येष्ठ नागरिकले निराश हुनु परेको छ ।

ज्येष्ठ नागरिकले ऋण खोजेर दशैँ मान्न बाध्य भएको खाँदबारी नगरपालिका–४ का ८६ वर्षीय ज्येष्ठ नागरिक बैरव राईले गुनासो गर्नुभयो ।

कोभिड–१९ को महामारी र सङ्कट परेको बेला भत्ता नपाउँदा मन खिन्न भएको राईले गुनासो गर्नु भयो । उहाँ जस्तै धेरै ज्येष्ठ नागरिकले रमाईलो गरी दशैँ मनाउने सोच बनाएकाहरू भत्ता नपाएर खिन्न भएका छन् ।

आर्थिक अवस्था कमजोर भएकाहरूलाई सामाजिक सुरक्षा भत्ताले गुजारा चलाउन टेवा पुर्‍याउँदै आएको छ । चौमासिक रूपमा वितरण हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारकाले वितरण गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरूलाई समस्या भएको छ ।

पर्व घरआँगनमा आएपनि भत्ता नआएको खाँदबारी नगरपालिका–१ का ८८ वर्षीय धनश्याम श्रेष्ठले बताउनु भयो । भत्ता नपाउँदा दशैं दशैं जस्तो नलागेको श्रेष्ठले दुखेसो व्यक्त गर्नुभयो ।

दशैँका बेला भत्ता नपाउदा दुःखी बनाएको एकल महिला सीता श्रेष्ठले बताउनु भयो । खाँदबारी नगरपालिकामा जेष्ठ नागरिक, एकल महिला, र दुई दलित जेष्ठ नागरिकसहित  दुई हजार ६ सय ४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । त्यस्तै पाँचखपन नगरपालिकामा एक हजार चारसय भन्दा बढीले सामाजिक सुरक्षा भत्ता पाउन सकेनन् ।

सरकारले ज्येष्ठ नागरिकलाई मासिह तीन हजार, ज्येष्ठ नागरिक एकल महिलालाई मासिक दुई हजार रुपियाँ ,विधवा महिलालाई मासिक दुई हजार रुपियाँ ,दलित ज्येष्ठ नागरिकलाई मासिक दुई हजार रुपियाँ, अपाङ्ग (क) श्रेणीकालाई मासिक तीन हजार रुपियाँ,अपाङ्ग (ख)श्रेणीकालाई मासिक एक हजार ६ सय रुपियाँ र बाल संरक्षणका लागि चार सय रुपियाँका दरले सामाजिक भत्ता उपलब्ध गराउदै आएको छ ।

भत्ता नपाउँदा ज्येष्ठ नागरिकसहित एकल महिला, अपाङ्गता भएका व्यक्ति पनि निराश छन् । खाँदबारी नगरपालिकाले ढिलो गरी रकम निकासा गरेका कारण बैङ्कले समयमा भुक्तानी गर्न नसकेको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालयका प्रबन्धक अनिस रायमाझीले बताउनु भयो । उहाँले भन्नु भयो  दशैंका बेला धेरै भिडभाड हुने र कोरोनाको जोखिमले दशैंपछि मात्र वितरण गर्ने बताउनु भयो ।

जिल्लामा रहेका १० ओटा स्थानीय तह मध्ये केही स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । पाँचखपन गाँउपालिका, मकालु गाँउपालिका,खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेका हुन् ।

लकडाउनका कारण समयमा तथ्याङ्क सङ्कलन नहुँदा यस पटकको दशैँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठले बताउनु भयो ।


भविन कार्की