दलित भनेर बुहारीलाई घर निकाला गरेको आरोपमा सासूससुरा गिरफ्तार

  ०७५ फागुन ५ गते

तल्लो जातकी कमिनी भनी हेला गरी बुहारीलाइ घर निकाला गरेको आरोपमा सासू र ससुरालाई प्रहरीले गिरफ्तार  गरेको छ ।

कुमाख गाउँपालिका–६ च्याउखोलाकी २० वर्षीया एलिसा बिकलाइ तल्लो जातकी भनी घर निकाला गरेको आरोपमा ४५ वर्षीय ससुरा युद्धवीर रावत र ४२ वर्षीया सासू पीमकली रावतलाई फागुन ४ गते घरैबाट गिरफ्तार  गरेको हो ।

घटनामा संलग्न रहेका अर्का आरोपित पीडितका २२ वर्षीय पति टिकाराम रावत भने घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

०७३ सालमा २२ वर्षीय टिकाराम रावतसँग अन्तरजातीय प्रेम विवाह गरेको बताउँदै पीडित बिकले विवाह भएको केही समय पछिबाट घर परिवार र पतिले समेत हेला गर्दै आएको र माघ २९ गते कुटपीट गरी घरनिकाला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते निवेदन दिएकी थिइन् ।

पीडितले दिएको निवेदनको आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी शाहीले बताए । पीडितले फागुन ५ गते जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी उजुरी दर्ता गराएकी छन् ।

घरेलु हिंसाबाट पीडित भइ घर निकाला गरिएकी महिलालाई इन्सेकको सक्रियतामा न्यायका लागि पहल गर्नुका साथै खलङ्गामा बासस्थानको व्यवस्था मिलाइएको छ ।

जाजरकोट माइतीघर भएकी पीडित घर परिवारबाट निकालिएपछि अलपत्र परेकी थिइन् । उजुरी दर्ताको काम सकिएपछि पीडित फागुन ५ गते नै जाजरकोटस्थित माइतीको घरमा गएकी छन् ।


मिना बुढाथोकी