दलित बस्तीमा खानेपानीको समस्या, सरकारले बेवास्ता गरेको पीडितहरूको आरोप

  ०७६ जेठ २९ गते

नवदुर्गा गाउँपालिका –१ अन्तर्गत पर्ने कोटेलीको सुनकोट गाउँका झण्डै २ सय घरपरिवारहरू वर्षौँदेखि खानेपानीको समस्याबाट ग्रसित हुँदै आएका छन् । सरकार र व्यवस्था फेरिए पनि आफूहरूका दुःख नफेरिएको सुनकोटबासीको अरोप छ ।

सुनकोट गाउँमा २ सय दलित परिवारहरूको बसोबास रहेको छ । आफूहरू दलित भएकै कारण राज्यका निकायहरूले विगतदेखि भोग्दै आएको खानेपानीको समस्या समाधानका लागि पहल नगरेको उनीहरूको आरोप छ ।

हरेक दिन दिउँसो बस्तीका महिला निलो जर्किन ल्याएर गाउँमाथि रहेको खानेपानी टयाङ्कीमा ५० लिटर पानी भर्नका लागि आउने गरेको पानी भर्नका लागि आएकी ५० वर्षीया हरूदेवी भुलले बताइन् ।

उनले भनिन्–“पानीका दुःखले यो इन्डियाबाट किनेर ल्यायाको जर्किन हो । सबैका घरका मान्छे कोही न कोही भारतमा छन् । घर आँउदा सबैले ५० लिटरको निलो जर्किन लिएर आउँछन् । गाउँभन्दा १० किलोमिटर टाढा असुर्पाबाट दिनभरी ट्याङ्कीमा पानी भरिन्छ । त्यसपछि दिउँसोको समयमा हामी सबैलाई दिनको ५० लिटरको एक जर्किन पानी दिइन्छ ।”

आफूहरू बिहानै उठेर दुई घण्टाको बाटो हिँडेर जाने गरेको भए पनि दिनको जम्मा ५० लिटर पानी भर्न पाइने भएकोले मुस्किलले बिहानबेलुकीको खाना पकाउन र पिउनका लागि मात्रै पुग्ने गरेको इन्दीरादेवी भुलले दुखोसो पोखिन् ।

उनले भनिन्–“मजुदुरी गरी घरखर्च चलाउनु पर्छ । पानीकै लागि दिन काटिने भएकोले काम गर्नै नपाइने भयो । बिहानबेलुकी छाक टार्न समेत समस्या भएको छ ।”

स्थानीय सरकार आएको दुई वर्ष हुँदा समेत सुनकोटबासीको खानेपानीको समस्या समाधान हुन नसकेको हरूदेवी भुलको आरोप छ ।

“मैले बिहे गरेर आउनुभन्दा पहिले पनि यता यस्तै समस्या थियो । आधा उमेर गइसक्यो अझ पनि धेरै परिवर्तन भएको छैन ।”–उनले भनिन् ।

गाउँपालिकाको खानेपानी योजनामा जातीय विभेद समेत हुने गरेको सुनकोटवासीको आरोप छ । स्थानीय चन्नरीदेवी भुलले धारामा पानी आएको दिन मात्रै एक जर्किन पानी पाउने गरेको बताउँदै पानी नआएको अवस्थामा दिनभरी लगाएर अरूको धाराबाट पानी मागेर खानु परेको दुखेसो गरिन् ।

उनले भनिन्–“२ सय घरधुरी रहेको दलित गाउँका नाउला (पोखरी) समेत सुकेका छन् । गाईगोरूलाई पानी खुवाउनदेखि लत्ता कपडाका साथै नुहाउनका लागि तीन चार घण्टाको पैदल दुरी हिँड्नु पर्छ । हाम्रा भन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ ।”

गैरदलित भन्दा दलित बस्तीमा पानी कम आउने भएकाले सुनकोटमा पानी नपुग्ने गरेको ट्याङ्की चौकीदार पौवा भुल बताउँछन् ।

“एरोडामा रहेको रिजर्भ ट्याङ्कीबाट पानी वितरणमा गल्ती हुन्छ ।”–उनले भने–“यता फुल गरेर खोलिँदैन एरोडामा बढी खोलिन्छ ।”

नवदुर्गा गाउँपालिका–१ कोटेलीका वडा अध्यक्ष भिम बोहोराले कोटेलीमा रहेको खानेपानी समस्या समाधान गर्नका लागि प्रदेश सरकारले डिप बोरिङ गर्न बजेट विनियोजीत गरिसकेको र गाउँपालिकाले पनि थप  १६ लाख रुपियाँ छुट्याएको बताए ।

उनले भने–“खानेपानीको समस्या विगतबाटै रहिआएकोमा समस्या समाधानका लागि २० लाख रुपियाँ बजेट विनियोजित गरेर बृहत खानेपानी योजना सम्पन्न भइरहेको छ । योजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।”

कोटेलीमा ०७३ साल फागुन १ गते खानेपानीको विषयमा विवाद हुँदा स्थानीय भिमबहादुर भुल र शेरबहादुर साउदबीच खुकुरी हानाहान भएको थियो ।

खुकुरी प्रहारबाट शेरबहादुर साउदको मृत्यु समेत भएको थियो । घटना भएको तीन वर्ष पुग्दा समेत यहाँको खानेपानीको समस्या भने उस्तै छ ।

photo20190612dadeldhura


भुपेन्द्र विष्ट