दलित बस्तीको विद्यालयमा गैरदलित बालबालिका भर्ना शुन्य

  ०७६ असार २६ गते

संविधानले जातीय छुवाछुत अन्त्यको घोषणा गरेको छ । तर, दार्चुलाको एक विद्यालयमा अहिले पनि जातीय अवशेष झल्कने गरी भेदभाव कायमै रहेको छ ।

व्याँस गाउँपालिका–६ स्थित लटबाब आधारभुत विद्यालयमा दलित समुदायका विद्यार्थीहरू मात्रै अध्ययन गर्ने गरेको पाइएको छ ।

यो विद्यालयमा दलित समुदायका विद्यार्थीहरू मात्रै अध्ययन गर्ने गरेको सोही विद्यालयका प्रधानाध्यापक रञ्जित दमाईले जानकारी दिए ।

२०५४ सालमा स्थापना भएको यस विद्यालयमा दलित समुदायका विद्यार्थीहरूबाहेक गैरदलित समुदायका बालबालिकाहरू पढ्न नआउने गरेको प्रधानाध्यापक दमाईले बताए ।

दलित बस्तीमा स्थापना गरिएको लटबाब आधारभूत विद्यालय नजिकै रहेको गैरदलित समुदाय हुती बस्तीका बालबालिकाहरू भने झण्डै २ किलोमिटर टाढाको अर्को विद्यालयमा जाने गरेको प्रधानाध्यापक दमाईले बताए ।

उक्त विद्यालयमा हालसम्म गैरदलित समुदायका बालबालिका पढन गएका छैनन् भने सो विद्यालयमा गैरदलित कर्मचारीहरू पनि पठाइएको छैन । उक्त विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् ।

दलित अगुवा एवम् कार्यपालिका सदस्य जयराम लुहार परम्परादेखि चल्दै आएको चलन यथावत रहेको बताउँछन् ।

‘पहिले राज्य व्यवस्थाबाटै विभेद जस्तो थियो ।’–उनले भने–‘दलित वस्ती रहेको ठाउँलाई कामी टोल भनिएको थियो । ०६५ साल अघिसम्म त्यो टोलकै नाम कामी टोल थियो । दलितको मात्रै बसोबास रहेको कारण यस क्षेत्रमा परापूर्व कालदेखि कामी टोल भनियो । ०६५ पछि विभिन्न व्यक्तिको पहलमा टोलको नाम जयपूर राखियो ।’ ६५ घरधुरीमा झण्डै ३ तीन ५० जनसङ्ख्या बसोबास छ ।

स्थानीय सरकारलेसमेत विद्यालय बनाउनमा सहयोग रहेको व्यास गाउँपालिका–६ का वडाअध्यक्ष मनोजसिह कुवँरले बताए ।

उनले भने–‘हाम्रोतर्फबाट हुने सहयोग भएको छ । गैरदलितका छात्रछात्राहरू विगतदेखि नै अन्य विद्यालयमा अध्ययन गर्ने गरेको कारण अहिलेसम्म सोही चलन रहेको छ । जातीय विभेद भन्दा पनि रीतिरिवाज भएको कारण तोड्न नसकिएको हो ।’

शिक्षा विकास तथा समन्वय एकाई, दार्चुलाका प्रमुख जयराज पन्तले विगतदेखि नै सो विद्यालयमा दलित विद्यार्थी मात्रै भर्ना हुँदै आएको बताए । उनले भने–‘पहिल्यैदेखि यस्तै चलेको हो । अहिलेसम्म पनि परिवर्तन आएको छैन ।’

 


नरेन्द्रसिंह कार्की