दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा

  ०७६ असोज २६ गते

रोल्पा नपा–१० धबाङकी कमला नेपाली पाठेघरसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल रेउघा पुगिन् । तर विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा उपचार हुन नसकेपछि उनले बुटवल गएर उपचार गराइन् ।

नेपाली जस्तै अन्य बिरामी पनि सेवा नपाएपछि अन्यत्र गएर उपचार गराउँछन् । सानो समस्याका लागि महङ्गो रकम खर्च गरेर बाहिर जानु पर्ने बाध्यता रहेको नेपालीले बताइन् ।

रोल्पाको सदरमुकाम नजिकै रेउघामा रहेको रोल्पा जिल्ला अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या परेको हो ।

विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई जिल्ला बाहिर गएर उपचार गराउनुपर्ने बाध्यता रहेको छ । रोल्पा नपा–२ रेउघामा रहेको जिल्ला अस्पताललाई ०७३ माघ २९ गते नेपाल सरकारबाट ५० शैयाको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेको भएपनि हालसम्म एक जना विशेषज्ञ डाक्टर पनि जिल्लामा आएका छैनन् ।

५० शैयाको जिल्ला अस्पतालमा आठ जना विभिन्न रोगका विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ । हालसम्म एक जना पनि विशेषज्ञ डाक्टर जिल्लामा नआएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. अनिल केसीले बताए ।

उनले जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामी विशेषज्ञ डाक्टरको अभावले जिल्ला बाहिर बुटवल, दाङ, नेपालगञ्ज र काठमाडौँ जान बाध्य हुनु परेको बताए ।

जिल्ला अस्पतालमा विशेषगरी स्त्री रोग र बाल रोग विशेषज्ञको आवश्यता बढी रहेको र जिल्ला अस्पतालमा डाक्टरहरू बस्ने आवासलगायतका भौतिक संरचनाको अभावका कारण पनि जिल्लामा विशेषज्ञ डाक्टर आउन नमानेको जनस्वास्थ्य प्रमुख नोखराज पौडेलले बताए ।

‘जिल्लाबासीको सेवालाई मध्यनजर गरी घर भाडामा लिएर भएपनि विशेषज्ञ डाक्टरहरूको व्यवस्था गर्नुपर्छ ।’-उनले भने-‘बाल रोग, स्त्रीरोग, हाड तथा जोर्नी रोग, रेडियोग्राफी, ल्यावलगायत आठ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएता पनि जिल्ला आस्पताल हाल एमबिबिएस डाक्टरको भरमा चल्दै आएको छ ।’

विशेषज्ञ डाक्टर जिल्लामा कार्यरत भएमा जिल्लाबासीले जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने डाक्टर अनिल केसीले बताए ।


माधवकुमार वली