दरबन्दी अनुसार डाक्टर नहुँदा सेवाग्राहीलाई सास्ती

  ०७६ कात्तिक २ गते

सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा समस्या भएको छ । अस्पतालमा उपचारको लागि आउने बिरामीहरूको चाप बढ्दै गएपनि दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या भएको हो ।

जिल्ला अस्पतालमा उपचारका लागी दैनिक १ सय ५० देखि २ सय जनासम्म बिरामीहरू जाने गरेपनि अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो रहेको छ ।

शारदा नपा–१ श्रीनगर बस्ने लक्ष्मी बस्नेत ओलीले रोगले थला परेका बिरामीहरू अस्पतालमा आउँदा लामो समयसम्म कुर्नुपर्दा बिरामीलाई थप समस्या हुने गरेको बताइन् ।

‘हामी इमरजेन्सी भएर अस्पतालमा आउँछौ तर अस्पतालमा एकजना डाक्टर मात्रै भएकाले तत्काल सेवा पाइँदैन । बिरामीलाई अस्पताल पु¥याएपनि तत्काल उपचार हुन नसक्दा थप पीडा भोग्नु पर्छ ।’–ओलीले भनिन् ।

१५ शैयाको जिल्ला अस्पताल सल्यानलाई अहिले ३७ शैयामा बिस्तार गरेर सेवा प्रदान गरिँदै आएको भएपनि आवश्यक दरबन्दी अनुसार कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रदानमा समस्या भएको छ ।

कार्यालय सहयोगी सहित ३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा अहिले १४ जना मात्रै कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला अस्पतालमा सल्यान लगायत रुकुम, रोल्पाबाट सेवा लिन आउने गरेपनि अस्पतालमा आवश्यक जनशक्तिको अभावमा सेवा नपाउँदा सेवाग्राहीले अन्य जिल्ला धाउनुपर्ने बाध्यता छ ।

विगतका दिनमा अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी भएपनि समायोजन भएर जाँदा समस्या भएको अस्पतालले जनाएको छ ।

अहिले अप्रेशन, डेलिभरी, इमरजेन्सी, प्लाष्टरलगायतका काम एकजनाको भरमा हुने भएकाले सेवा छिटो प्रवाह गर्न नसेको डाक्टर प्रदिप शर्माले जानकारी दिए ।

बिरामीहरू सेवा लिन आउँदा समयमा सेवा दिन नसकेको स्वीकार गर्दै उनले स्वास्थ्य सेवा विभागले समयमा अस्पातालमा दरबन्दी अनुसारका कर्मचारी नपठाउने हो भने आगामी दिनमा झन् समस्या हुने बताए ।

जिल्ला अस्पतालमा कर्मचारी नहुँदा समस्या भएको विषयमा स्वास्थ्य सेवा विभागमा जानकारी गराएको भएपनि हालसम्म यस विषयमा स्वास्थ्य सेवा विभागले चासो नदेखाएको शर्माको भनाई छ ।

सल्यान जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दामोदर शर्माले समायोजनका क्रममा सल्यान जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी आउन नचाहेकाले समस्या भएको बताए ।


मिना बुढाथोकी