दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा

  ०७६ असोज ३० गते

दुधपोखरी गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा १९ जना कर्मचारीको दरबन्दी रिक्त रहँदा सो क्षेत्रका सेवाग्राहीहरूलाई समस्या भएको छ ।

एक महिनादेखि यो समस्या आएको र गाउँपालिकाभर २३ जना स्वास्थकर्मीको दरबन्दी रहेकोमा हाल चारजना मात्र कार्यरत रहेको दुधपोखरी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत ध्रुव खनालले बताए ।

कार्यरत कर्मचारी समायोजनले अन्यत्रै सरूवा भई गएका र नयाँ कर्मचारी नआउँदा दुधपोखरी गाउँपालिका–४ स्थित इलमपोखरी स्वस्थ्य चौकी कर्मचारीविहीन भएको छ ।

नजिकैको स्वास्थचौकीमा कर्मचारी नभएपछि सो क्षेत्रका सेवाग्राहीलाई सिटामोल लिन जानको लागि पनि लामो बाटो धाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ ।

कर्मचारी नभएपछि गाउँपालिकामा रहेका दुईओटा बर्थिङ सेन्टर पनि प्रभावित बनेका छन् । गर्भवती महिलाहरूलाई चेक जाँचको लागि ५ घण्टा लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको दुधपोखरी गाउँपालिका–३ की ३२ वर्षीया सुशीला गुरुङले बताइन् ।

कर्मचारी समायोजनको असर गाउँपालिकाले खेप्नुपरेको दुधपोखरी गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङको भनाई छ ।

आवश्यक दरबन्दी अनुसारका कर्मचारी नहुँदा नेपाल सरकारको राष्ट्रिय अभियान अन्र्तगत आगामी कात्तिक २ र ३ गते सञ्चालन हुने भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रमसमेत प्रभावित हुन सक्ने त्रास रहेको गाउँपालिकाका स्वास्थ्य एकाई संयोजक होमबहादुर गुरुङले बताए ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा समस्या आउन नदिनको लागि करारमा कर्मचारी राखेर भएपनि सेवाग्राहीलाइ सेवा दिने तयारीमा गाउँपालिका रहेको अध्यक्ष गुरुङले बताइन् ।

अझै एक महिनासम्म सङ्घ र प्रदेश सरकारको परिपत्र कुर्नुपर्ने हुँदा केही दिन यो समस्या कायमै रहने प्रमुख प्रसाशकीय अधिकारी खनालले बताए । कर्मचारी समायोजनमा गाउँपालिका कसैले नरोजेपछि यस्तो समस्या आएको खनालको भनाइ छ ।


दलबहादुर मजाकोटी