दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या

  ०७५ साउन २१ गते

स्तरबृद्धि भएको तीन वर्षबितिसक्दा पनि इलाम अस्पतालमा रहेका दरबन्दीमा विशेषज्ञ डक्टर नहुँदा अस्पतालको सेवाप्रवाहमा समस्या भएको छ । सरकारले ०७२ सालमा इलाम अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्तरबृद्धि गरेको थियो ।

अस्पतालको स्तरबृद्धि पछि नौ जना विशेषज्ञ डक्टरहित १६ जना डक्टरको दरबन्दी कायम भएको थियो । स्तरबृद्धि भएको तीन वर्ष बितिसक्दा पनि अहिले एक जना मेडिकल सुरिटेण्डेण्ट, तीन जना मेडिकल अधिकृत र एक जना करारका डेण्टल सर्जन डक्टरको भरमा अस्पताल सञ्चालन भइरहेको छ ।

अन्य विषेशज्ञ डक्टर नहुँदा अस्पतालका प्रमुख डक्टर विदामा बस्दा वा अस्पतालकै कामले जिल्ला बाहिर हुँदा भने उपचार गराउन आउने विशेषगरी गर्भवती महिला र भिडियो एक्सरे गराउने सेवाग्राही अन्य जिल्लाकै अस्पतालमा जानुपर्ने बाध्यता छ ।

अस्पतालका मेडिकल सुरिटेण्डेण्ट डक्टर पवन रायमाझीले आफू अस्पतालमा हुँदा पनि चौबीसै घण्टा खट्नु पर्ने र बाहिर हुँदा अस्पतालमा आएका बिरामीलाई बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताए । 'नौ जना विशेषज्ञमा एउटै पनि छैन । भिडियो एक्सरे, ओपिडि, प्रसूति, शल्यक्रिया सबै आफैँले एक्लै हेर्नुपर्छ । पालो दिने समेत हुँदैन ।'-रायमाझीले भने ।

अस्पातलमा नौ विशेषज्ञसिहतको १६ डक्टरको दरबन्दीमध्ये तीन विशेषज्ञसहित १४ दरबन्दी खालीनै रहेको अस्पतालकी सूचना अधिकारी रीता अधिकारी बताउँछिन् । अस्पतालमा विशेषज्ञदेखि कार्यालय सहयोगीसम्म ६४ जनाको दरबन्दी भएपनि कार्यरत भने ३३ जनामात्रै कार्यरत छन् ।

अधिकारीका अनुसार दैनिक आपिडिमा २ सय बिरामी आउने गरेका छन् भने इमरजेन्सीमा पनि दैनिक ५०-६० जना बिरामी आउने गरेका छन् । चिकित्सकको जनशक्ति अभावमा ५० शैयालाई घटाएर ३५ शैयामा झारिएकाले अहिले बिरामीलाई भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।


कोकिला ढकाल