दरबन्दी अनुसारका डाक्टरहरू नहुँदा अञ्चल अस्पताल 'रिफर सेन्टर' बन्दैं

  ०७३ मङ्सिर १ गते

धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ सेवा दिनको लागि ६ वर्षपहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएको बागलुङको धौलागिरी अञ्चल अस्पताल 'रिफर सेन्टर'का रूपमा परिणत हुन थालेको छ ।

१६ जना विषेशज्ञ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा १४ जना डाक्टरको पद रिक्त रहँदा उपचारको लागि आउने बिरामीहरूलाई पोखरा, काठमाडौँलगायतका अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था भएकाले रिफर सेन्टरमा परिणत हुन लागेको बिरामीहरूले आरोप लगाएका छन् ।

१६ जनाको दरबन्दी भएतापनि हाल अस्पतालमा एकजना डाक्टर मात्र कार्यरत रहेको र एक डाक्टर विदामा रहेको अस्पतालका सूचना अधिकृत तथा मेडिकल रेकर्ड अधिकृत तिर्थराज गौतमले बताए । अस्पतालमा सात जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा तीन जनामात्रै कार्यरत रहेको पनि गौतमले जानकारी दिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सागर राजभण्डारीले १६ जना विषेशज्ञ डाक्टरहरू हुनुपर्ने अस्पताल आफू एक्लैले हेर्नुपर्दा दैनिक १२-१३ घण्टा काम गर्दा पनि नसकिने गरेको गुनासो गरे ।

अस्पताल प्रशासन, सर्जरी, ओपिडिलगायतका सबै ठाउँहरूमा एक्लैले हेनुपर्दा कतिपय बिरामीले डाक्टरले समय दिएनन् भन्ने गुनासो गर्ने गरेको बताउँदै उनले भने-'एक्लैले चाहेर पनि सबै काम गर्न सक्ने अवस्था छैन । जनशक्तिको अभावमा अस्पतालमा भएका औजार र उपकरणको समेत प्रयोग गर्न नसक्दा बिरामीहरूले पाउने सेवा प्रभावित भएको छ ।'

स्त्रीरोग, बालरोग, दन्तरोग जस्ता विभिन्न रोगहरूका डाक्टरहरूको दरबन्दी रहेको अञ्चल अस्पतलामा दरबन्दी अनुसारका डाक्टरहरू नहुँदा सामान्य बिरामीलाई पनि पोखरा, काठमाडौँलगायत अन्य शहरमा रिफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

'बिरामी भइयो भनेर यहाँ उपचार गर्नपनि डर लाग्छ । कार्यालय समयमा पनि डाक्टर अस्पतालमा भेटिँदैनन् । प्रशिक्षार्थी डाक्टरहरूले मनमानी गर्छन् ।'-अस्पतालमै भेटिएका बिरामीका आफन्त शेखर खड्काले भने ।

७० प्रकारका औषधिहरू निशुल्क पाउनुपर्ने भएपनि अस्पतालमा औषधिको अभाव हुँदा बिरामीले क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेकोसमेत उनले गुनासो गरे ।

अञ्चल अस्पतालबाट पाउनुपर्ने सामान्य सेवासमेत नपाएर बिरामीहरू महङ्गो शुल्क तिरेर निजी  अस्पतालहरूमा उपचार गराउन बाध्यता हुने गरेको खड्काले बताए ।

अस्पताललाई व्यवस्थित र राम्रो जनमूखी बनाउनको लागि सरकारले अस्पताल विकास समितिको गठन गरेको भएपनि हाल पुरानो विकास समितिको समय सकिएको र नयाँ समितिको चयन हुन सकेको छैन ।


सिर्जना पन्त