दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

  ०७६ कात्तिक १७ गते

कात्तिक १२ गते व्यास नगरपालिका–१ हाइस्कूलटारका ५० वर्षीय मोहन थापालाई घरमै मुसाले टोकेपछि रेबिज विरूद्धको भ्याक्सिन लगाउन छिमेकीले दमौली अस्पतालमा लगे ।

तर, अस्पतालमा सो भ्याक्सिन नभएपछि उनलाई निजी अस्पतालमा लगेर रेबिज विरूद्धको भ्याक्सिन लगाइएको थियो ।

तनहुँ सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पतालमा ६ महिनादेखि रेबिज विरूद्धको भ्याक्सिन नहुँदा कुकुर तथा मुसाले टोकेका सर्वसाधरणहरू मारमा परेका छन् ।

सोही कारण सर्वसाधरणहरू महङ्गो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य भएका छन् । थापालाई मुसाले टोकेपछि भ्याक्सिन लगाउन दमौली अस्पताल लगेका व्यास नपा–१ का सनम तामाङले सरकारी अस्पतालका स्वास्थ्यकर्मीले नै रेबिज विरूद्धको भ्याक्सिन छैन भन्दै निजीमा लैजान सिफारिस गरेको बताए । उनले मात्र हैन दमौली वरपरका सबै सर्वसाधरणले त्यही समस्या भोग्नु परिरहेको छ ।

दमौली अस्पतालमा दैनिक न्युनतम १० जना रेबिज विरूद्धको भ्याक्सिन लगाउन आउने गरेको अस्पतालका कर्मचारीहरू बताउँछन् ।

तर, सरकारीमा निःशुल्क पाइने उक्त सेवा निजी स्वास्थ्य संस्थामा पाँचदेखि ७ सय रुपियाँसम्म तिरेर लिनु परिरहेको छ । थापाले नेशनल एपोलो अस्पतालमा ७ सय रुपियाँ तिरेर एन्टीरेबिज भ्याक्सिन लगाएको बताए ।

मुसा तथा कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार चारदेखि पाँच ओटा एन्टिरेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।

सरकारी अस्पतालमा उक्त खोप नहुँदा निजीमा एक पटकमा ७ सय रुपियाँ तिरेर खोप लगाउन बाध्य भएका दमौली वरपरका सर्वसाधरणहरू बताउँछन् ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा रेबिज भ्याक्सिन नभएको बारेमा आफू अनभिज्ञ भएको बताए ।

उनले कुन औषधि कति मात्रामा छ भन्ने कुरा आफूहरूलाई भन्दा पनि स्वास्थ्यकर्मी र चिकित्सकलाई जानकारी हुने भन्दै यस बारेमा थप कुरा बुझ्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौड्यालले उक्त खोप अभाव भएको बारेमा सम्बन्धित निकायमा जानकारी गराइएको तर आउन ढिला भएको बताए ।


प्रकाशचन्द्र भट्टराई