दबाबपछि मात्रै हत्या घटनाका आरोपितविरूद्ध प्रहरीद्वारा उजुरी दर्ता

  ०७६ मङ्सिर १० गते

मिथिलाविहारी नपा–३ का २३ वर्षीय कुसुमकुमारी मण्डललाई कुटपिट गरि घाँटी थिचेर हत्या गरेको भन्दै २५ वर्षीय पति प्रकाश मण्डलविरूद्ध मृतकका बाबु जिवछ मण्डलले दिनुभएको उजुरी दबाबपछि मात्रै प्रहरीले दर्ता गरेको छ ।

मङ्सिर ६ गते राति ११ बजेतिर घरमा खाना खाएर सुत्न लागेको बेलामा भएको विवादको क्रममा दाइजोमा दिएको मोटरसाइकल नामसारी नगरेको भन्दै कुसुमकुमारी मण्डललाई कुटपिट गर्दै घाँटी थिचेर पतिले हत्या गरेको भनी दिइएको किटानी उजुरी प्रहरीले मङ्सिर ८ गते दर्ता गरेको छ ।

उजुरी दर्ता भएपछि मृतक कुसुमकुमारी मण्डलको शव सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मङ्सिर ९ गते दिउँसो १ बजे पोस्टर्माटम गरिएको मृतकका भाइ सिरहा गोलबजार नपा–८ चोहर्वा बस्ने लालबावु मण्डलले जानकारी दिनुभएको छ ।

पोस्र्टमार्टमपछि प्रहरीले मङ्सिर ९ गते साँझ शव परिवारजनलाई बुझाएको छ र सोही दिन साँझ नै दाहसंस्कार गरिएको पनि मण्डलले जानकारी दिनु भएको छ ।

मङ्सिर ७ गते दिनभर उजुरी दर्ता गराउने भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा कुरेपनि प्रहरीले उजुरी नलिएपछि मङ्सिर ८ गते सिरहाको गोलबजारस्थित पूर्वपश्चिम राजमार्गको चोहर्वामा २ घण्टा चक्काजाम गरेपछि धनुषा प्रहरीले उजुरी दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या आरोपित प्रकाश मण्डल र ससुरा रामचन्द्र मण्डललाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।


दिपेन्द्रप्रसाद सिंह