दक्ष स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

  ०७६ कात्तिक ११ गते

बाजुरा जिल्ला अस्पतालमा दक्ष स्वास्थ्यकर्मी नहुदा सुत्केरी महिलालाई समस्या भएको छ । बडिमालिका गाउँपालिका–७ की कल्धरी बिकलाई सुत्केरी व्यथा लागेर उनका आफन्तले जिल्ला अस्पताल बाजुरा ल्याए ।

सात महिनाकी गर्भवति महिलालाई एक्कासी उच्च रक्तश्राव भएपछि स्थानीय र जनप्रतिनिधिले जिल्ला अस्पलता पुर्‍याएपनि अस्पतालमा चिकित्सक नहुँदा समस्या भएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरीले बताए ।

बच्चा जन्मिनको लागि ४० हप्ता अर्थात २ सय ८० दिन पुग्नु पर्ने भएपनि २९ हप्ता ३ दिनको अवधिमा नै महिलालाई सुत्केरी व्यथा तथा उच्च रक्तश्राव भएपछि जिल्ला अस्पताल मार्तडी ल्याइएको थियो ।

जिल्ला अस्पतालमा सिजेरियन सेक्सनमा डाक्टर नभएको र अप्रेसन गरी बच्चा जन्माउनु पर्ने भएकाले बयालपाटा अस्पताल अछाममा रिफर गर्नुपरेको गिरीले बताए ।

हप्तामा तीन चार जना यस्तै प्रकृतिका बिरामीहरू जिल्ला अस्पताल बाजुरामा आउँछन् । विगत केही वर्ष यता निक साइमन इन्श्टिट्युट (एनएसआइ) बाट दुई जना डाक्टर हुँदा केही सहज भएको थियो ।

डाक्टर टिका राईको सरूवा भएर गइसके भने एमडिजीपी डाक्टर दुर्गा महर्जन तिहारको बिदामा हुँदा जिल्लामा उपचार गर्न निकै अप्ठेरो भएको उनले बताए ।

उनका पति नर बिक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही नहुँदा बयालगढा अस्पताल पुगाइएपछि अहिले महिला र बच्चाको अवस्था सामान्य रहेको उनका आफन्त डबल बिकले बताए ।

बडिमालिका नगरलिकाका नगरप्रमुख पदम बडुवालले जिल्ला अस्पतालमा यस्ता घटनाहरू बारम्बार आइराखे पनि अस्पतालको क्षमता विस्तार गरी आवश्यक सेवा सुविधा पुर्‍याउन आवश्यक व्यवथापनका लागि सम्बद्ध निकायमा आफू लागि परेकोे बताए ।


पदम सिंह