थप उपचारकालागि रिफर लिन घण्टौ लाइनमा बस्नुपरेको बिरामीहरूको गुनासो

  ०७६ पुस २८ गते

जिल्ला अस्पतालमा नाम दर्ता गराउन र थप उपचारकालागि अन्य अस्पतालमा जान अवस्यक प्रक्रिया  पुरयाउनकालागि लागि घण्टौ लाइनमा बस्नुपरेको बिरामीहरूले गुनासो गरेका छन् । सरकारले कुनै पनि नेपाली नागरिकले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने योजनाका साथ ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत बिमा गरेका बिरामीहरूले टिकट लिनकै लागि सास्ती बेहोर्नु परेको छ ।

बिमा कार्यक्रम अन्र्तगत एक परिवारमा पाँच जनाको एकमुष्ट ३ हजार ५ सय रूपियाँ बुझाएपछि वर्षभरिमा १ लाख  रूपियाँ बरावरको उपचार निःशुल्क पाउने ब्यवस्था रहेको छ । त्यस्तै पाँच जना भन्दा बढी ब्यक्ति भएको परिवारले ५ जना भन्दा माथि प्रति ब्यक्ति ७ सय रूपियाँ बुझाउनुपर्ने र त्यसबापत थप प्रति सदस्य २० हजार रूपियाँ बरारबरको उपचार सुविधा पाउने कार्यक्रम रहेको छ ।

बिमितले पहिलो पटक सरकारी अस्पताल उपचारकालागि जानुपर्ने र त्यहाँ उपचार सम्भव नभए मात्रै रेफर गर्न पाउने ब्यवस्थाका कारण जिल्ला अस्पताल पाल्पामा बिरामीहरूको भिड  लाग्ने गरेको हो । अस्पतालमा दैनिक ५ सय जनासम्म बिरामीहरू आउने गरेका अस्पतालका डा. पुष्प ज्ञवालीले बताउनु भयो ।

अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति बिना नै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन हुँदा समस्या भएको हो । बगनासकाली गापा– १ चिर्तुङधाराका ढालबहादुर झेडीले स्वास्थ्य बिमा कार्यक्रमले खुशीको साटो सास्ती पाएको बताउनु भयो । लामो समय लाइनमा बस्दा बिरामीहरूको समस्या झनै बढ्ने गरेको अस्पतालमा रेफर लेटर लिनकै लागि आएका रैनादेवी गाउँपालिकाका बेनीबहादुर कुमालले बताउनु भयो ।

पछिल्लो समय तानसेन नगरपालिका सहित जिल्ला अन्य स्थानीय तहहरूले समेत विपन्न, दलित, स्वास्थ्य स्वयम सेविकालाई समेत लक्षित गरेर स्वास्थ्य बिमा गरिरहेका छन् । सर्वसाधारण उत्साहित भएपनि रिफर बनाउँदा झेल्नु परेको समस्याले  सेवाग्राही निरास भएका छन् । सरकारले हाल पाल्पा सहित ४७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पाल्पा जिल्लामै मात्रै हालसम्म ३८ हजार ३ सय ३ घरपरिवारका १ लाख ५० हजार ४ सय ९० जनाको स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख त्रिलोचन गैरेले बताउनु भयो ।

अस्पतालमा स्थायी दरबन्दीमा दुई जना र चार जना छात्रबृत्तिका करार डाक्टर रहेका छन् । यसरी हरेक दिन एक जना डाक्टरले कम्तीमा १ सय जनासम्म बिरामी हेर्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्प ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो–“रिफर दिने बिरामीहरूलाई समेत साधारण चेकजाच पछि मात्र  लेख्नुपर्ने भएकोले झनै समस्या भएको छ ।,”साधारणतया १ जना डाक्टरले प्रति दिन २५ जनासम्म बिरामी हेर्न सक्ने भएपनि चार गुणा बढी बिरामी हेर्नुपरेको उहाँले बताउनुभयो ।


यज्ञमूर्ति तिमिल्सिना