तोकिएका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा लिन सेवाग्राहीलाई समस्या

  ०७६ असोज ८ गते

३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा १२ जना मात्र कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ ।

सेवा प्रवाहलाई चुस्तदुरूस्त तुल्याउन अस्पताल विकास समितिले प्रदेश र केन्द्र सरकारलाई गुहार गरेको छ । दरबन्दी कटौतीपछि अस्पताल विकास समिति गुहार माग्न प्रदेश तथा केन्द्र पुगेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन नेतृत्वको टोलीले भदौ ३० गते प्रदेश १, का सामाजिक विकास मन्त्री जीवनकुमार घिमिरेलाई मन्त्री कार्यालयमा भेटेर अस्पतालको समस्या अवगत गराएको छ ।

प्रदेश सांसद बलबहादुर साम्सोहाङ, होमकुमारी सा“वा, फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई (तारा) जिल्ला अस्पतालका डाक्टर साजन ङाखुसीलगायत सम्मिलित टोलीले काठमाडौँ पुगेर सङ्घीय मन्त्री उपेन्द्र यादवलाई भेट्ने भएको छ ।

प्रदेश १, का सामाजिक विकास मन्त्री घिमिरेले दसैँसम्ममा करारमा कर्मचारी नियुक्तिसम्बन्धी कार्यविधि पारित गर्ने र नियुक्तिको बाटो खुलाउने बताएको फुङलिङ नपाका उपमेयर बलबहादुर भट्टराईले बताए ।

मन्त्री घिमिरेको भनाई उद्घृत गर्दै जिल्ला समन्वय समिति प्रमुख मादेनले भने–‘कार्यविधिका कारण रोकिएको छ । चाँडै कार्यविधि बनाएर कर्मचारी नियुक्तिको बाटो खोलेर समस्या समाधान गर्छौँ ।’

३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा अहिले २२ जनाको मात्रै दरबन्दी कायम छ । समायोजनमा थप सात जनापनि कटौती भएपछि १२ जना कर्मचारीको भरमा अस्पताल चलेको छ ।

अस्पतालमा अहिले कार्यालय सहयोगी छैनन् । कार्यालय सहयोगीले स्थानीय तह रोजेपछि यहाँका १२ जना कार्यालय सहयोगी फुङलिङ नगरपालिका गइसकेका छन् ।

यहाँको ल्याब टेक्निसियन, डाक्टर रूम एसिष्टेण्ट, अहेव, अनमी, एनएसथेसिया, मेडिकल रेकर्डर र स्टाफ नर्सको दरबन्दी कटौती भएको छ ।

स्वास्थ्य सेवा लिन आउनेलाई लामबद्घ गराउने लगायतका काम प्रहरी हवल्दार सुरेन्द्र दाहालले गर्दै आएका छन ।

अस्पतालको तथ्याङ्क अनुसार भदौ महिनाको सुरूआतपछि प्रत्येक दिन १ सय ५० जना देखि १ सय ८५ जनासम्म बिरामी उपचारका लागि अस्पताल आएको तथ्याङ्क शाखाकी बिष्णु लिम्वूले बताइन् ।

‘भाइरलको महामारीका बेला निकै नै कठिन भयो ।’–अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले भने–‘२४ सै घण्टा खटिएर त्यसलाइ व्यवस्थापन गर्‍यौँ । तथापि सेवाग्राहीको अपेक्षा पुरा गर्न चुक्यौँ ।”

लामाको समायोजन पाँचथरको गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छ । अस्पतालको अवस्था देखेर केही व्यवस्था नहुञ्जेल रमाना लिन नसकेको डक्टर लामाको गुनासो छ ।


देवराज गुरुङ