तेस्रोलिङ्गी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ८ गते

तेस्रोलिङ्गी महिला २९ बर्षीया अजिता भुजेलको हत्याको आरोपमा मकवानपुर प्रहरीले ५ जनालाई गिरफ्तार गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरकी भुजेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माघ ७ गते ५ जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता इन्सपेक्टर ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

प्रहरीले मोबाइल कल डिटेल, सिसिटिभी फुटेजलगायतका अन्य अनुसन्धानको आधारमा उनीहरुलाई गिरफ्ता गरिएको जनाएको छ । यद्यपि गिरफ्तार गरिएका व्यक्तिहरुको परिचय प्रहरीले गोप्य राखेको छ । तेस्रोलिङ्गी भुजेलको माघ ४ गते हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । उनको घाँटीमा तारले बेरेको र टाउकोमा घाउचोट देखिएको थियो । भुजेलको शव हेटौंडा–५ क्याम्पाडाँडामा भेटिए पनि उनले चढ्दै आएको ना ५३ प २७३४ को स्कुटर हेटौंडा–११ थानाभर्याङमा भेटिएको थियो । प्रहरीको अनुसन्धानले मध्यरातको १२ बजेसम्म भुजेल थानाभ¥याङमा नै रहेको देखाएको छ ।

तेस्रोलिङ्गी भुजेलको बलात्कारपछि हत्या र लुटपाट भएको हुनसक्ने भन्दै दोषीलाई छिटो पक्राउ गर्न निलहिरा समाज मकवानपुरले माग गरेको छ । निलहिरा समाज मकवानपुरकी कार्यक्रम संयोजक सुरज किरणले हत्यारालाइ पहिचान गरी कडा कारबाहीको माग गर्नुभएको छ ।


पुष्पराज अधिकारी