तीन सातादेखि विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्राभावित

  ०७६ भदौ ८ गते

चङ्खेली गाउपालिका–३ मेखाला स्थित रारा आधारभुत विद्यालय तीन साता यता अनिश्चतकालका लागि बन्द भएको छ ।

गत साउन १६ गतेदेखि विद्यालय ताला लगाएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको स्थानीय मिनबहादुर बुढाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले मनोमानीत ढङ्गले करारमा शिक्षक नियुक्ति गरेको आरोपमा स्थानीय र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले अनिश्चितकालका लागि तालाबन्दी गरेको बुढाले बताए ।

स्थानीय खड्क रोकाया चङ्खेलीका अधिकांश विद्यालयमा राजनीतिक बलमा जागीर खाने गरेको हुँदा शिक्षकहरूले विद्यालयमा नियमित रूपमा पढाउन छाडेकाले तालाबन्दी गर्न बाध्य भएको बताउँछन् ।

दुई जनाको दरबन्दी रहेको विद्यालयमा यतिखेर एक जना पनि शिक्षक नभएको शिक्षा विकास तथा समन्वय समितिका कर्मचारी कालिबहादुर छत्यालले बताए ।

उनले भने–‘सो विद्यालयमा कार्यारत शिक्षक दन्त साउद एक महिना अगाडि नै आफ्नो पायक पर्ने विद्यालयमा सरूवा मागेर गएपछि सो विद्यालयमा पठनपाठन हुन सकेको छैन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्षबहादुर बुढाले शिक्षिका सरिता शाहीले अबको केही दिन भित्रै आएर पठनपाठन सुरू गर्ने बताए ।

गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले भने कर्मचारी समायजनमा समस्या आएकोले सो विद्यालयमा यस्तो समस्या आएको बताए ।


नन्द सिंह