तीन सातादेखि गाउँपालिकाको कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा

  ०७६ साउन २७ गते

सर्केगाड गाउँपालिकाको कार्यालय तीनसातादेखि बन्द रहँदा सेवाग्राही मर्कामा परेका छन् । सो गाउँपालिका साउन ४ गतेबाट बन्द भएपछि सेवाग्राहीको दैनिक कामकाज प्रभावित भएको छ ।

विना कारण लामो समय गाउँपालिका कार्यालय बन्द भएपछि सर्केगाड गाउँपालिकामा सेवाग्राहीलाई चाहिने जन्म, मृत्यु, बसाइसराई, खाद्यान्न, नुन र नागरिकतालगायतको सिफारिस कार्य प्रभावित भएको स्थानीय हस्तबहादुर शाही बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा कर्मचारीहरूसमेत कार्यालयमा नबसेर जिल्ला सदरमुकामतिर लागेपछि कार्यालय बन्द रहेको हो ।

त्यस्तै गाउँपालिकामा विभिन्न कामका लागि कार्यालय गएको भएपनि कार्यालय नै बन्द गरिँदा सेवा नलिई घर फर्कनु परेको स्थानीय उषा फडेराले गुनासो गरिन् ।

उनले भनिन्-'गाउँपालिकाको कार्यालयमा पुग्नलाई करिब पाँच घण्टा पैदल लाग्ने गरेको छ । बच्चा काखमा बोकेर गएको कार्यालयमा काम नबन्दा झन् समस्या भएको छ ।'

गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले कार्यालय बन्द भएकोबारे आफूलाई पनि जानकारी नआएको बताए । केही दिन अगाडि देखि आफू जिल्ला बाहिर भएकाले कार्यालयका बारेमा केही थाहा नभएको बताउँदै उनले यसका बारेमा सम्बन्धित कर्मचारीसँग बुझ्ने बताए ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सो गाउँपालिकाका कर्मचारी काम विशेषले सदरमुकाम सिमकोटमा आएको हुनाले सेवा प्रभावित भएको जानकारी दिए ।


नन्द सिंह